मनहरीका किसानले ११ महिनामै दूध बेचेर कमाए झण्डै २९ करोड, नियमित भुक्तानीले बढ्यो पशुपालन

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा नियमित भुक्तानीको व्यवस्थासँगै दुग्ध उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा यहाँका किसानले दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन्।

गाउँपालिकाका अनुसार असारदेखि जेठ मसान्तसम्म ४० लाख ४४ हजार ४९६ लिटर दूध बिक्री भएको हो। समयमै भुक्तानी हुन थालेपछि किसानको पशुपालनप्रतिको आकर्षण बढ्दै गएको गाउँपालिकाले जनाएको छ।

यसअघि किसानले जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मकवानपुरमार्फत दूध बिक्री गर्दै आएका थिए। तर भुक्तानीमा ढिलाइ हुन थालेपछि गाउँपालिकाले गत वर्ष कात्तिकदेखि हेटौँडा–१९, नेवारपानीस्थित हेटौँडा डेरी इन्डस्ट्रिज प्रालिसँग सम्झौता गरेर दूध बिक्री तथा भुक्तानीको जिम्मेवारी लिएको थियो।

गाउँपालिकाका अनुसार अहिले नौवटै वडाका छवटा दुग्ध सहकारीमार्फत दैनिक दूध सङ्कलन भइरहेको छ। ती सहकारीमा एक हजार ४०० भन्दा बढी किसान आबद्ध छन्। आर्थिक वर्ष २०८०/८१ मा दैनिक करिब चार हजार ६०० लिटर दूध सङ्कलन हुने गरेकोमा अहिले यो परिमाण बढेर करिब १४ हजार लिटर पुगेको छ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले किसानले उत्पादन गरेको दूधको मूल्य समयमै पाउन थालेपछि पशुपालन व्यवसायप्रति विश्वास र उत्साह दुवै बढेको बताउनुभयो। उहाँका अनुसार यही व्यवस्थाले दूध उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको हो।

पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत प्रदीप बर्तौलाले गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिँदै आएको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा मात्रै दूध उत्पादन अनुदानस्वरूप ९५ लाख रुपैयाँ वितरण गरिसकिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार सङ्घीय सरकारको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा सञ्चालन भइरहेको पशु बीमा कार्यक्रमले पनि दुग्ध व्यवसायलाई थप सुरक्षित बनाएको छ। यसले आगामी वर्ष दूध उत्पादन अझ बढ्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।-गोर्खापत्रबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.