रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हर्नामाडीमा खाद्यान्न वितरण

हेटौंडा । हेटौंडाको पहिलो सामुदायिक रेडियो रेडियो मकवानपुरले १६औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरको प्राङ्गण, हेटौंडा–२ पल्पसाहल रोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

रक्त सञ्चार केन्द्र हेटौंडाको सहकार्यमा सम्पन्न कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्। रेडियो मकवानपुरको वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुँदै आएको छ।

कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ तथा रक्त सञ्चार केन्द्रका विष्णु रिमाललगायतको उपस्थिति रहेको थियो।
“रक्तदान जीवन दान हो” भन्ने नारासहित पवित्र कार्यबाट सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष पराजुलीले बताए।

कार्यक्रम अन्तर्गत माघ १७ गते हेटौंडा–१८ हर्नामाडीस्थित श्री वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न वितरण गरिनेछ। माघ १८ गते महिला पत्रकारहरूको संस्था सञ्चारिका समूहलाई सेनेटरी प्याड सहयोग, १९ गते रेडियो परिसरमै निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद, २० गते मिडिया कप फुटसल प्रतियोगिता तथा २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन गरिनेछ।

समापन समारोहमा मकवानपुरका दुई जनालाई जनही १० हजार रुपैयाँ नगदसहित सामुदायिक सम्मान प्रदान गरिनेछ। रेडियो मकवानपुरले हरेक वर्ष वार्षिकोत्सवमा दुई जनालाई सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ।

रेडियो मकवानपुरले २०६६ साल माघ १६ गते सहिद दिवसको अवसरबाट नियमित प्रसारण सुरु गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.