हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को समग्र उपाधि काठमाडौंले जितेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंले ५१ स्वर्ण, ३८ रजत र ४२ कास्यसहित कुल १३१ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो।
ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्यसहित समान १३१ पदक जिते पनि स्वर्ण पदक कम भएकाले दोस्रो स्थानमा सीमित रह्यो। चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्यसहित कुल ८५ पदक जित्दै तेस्रो स्थानमा रह्यो।
उपाधिसँगै काठमाडौंले नगद १ लाख रुपैयाँ, ललितपुरले ७५ हजार रुपैयाँ र चितवनले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिताको अन्तिम दिन सम्पन्न फुटबलतर्फ पुरुष र महिलाको उपाधि फरक–फरक जिल्लाले जितेका छन्। महिलातर्फ काठमाडौंले चितवनलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बन्यो। विजेता टोलीका खेलाडीले जनही ५ हजार रुपैयाँ तथा उपविजेता टोलीका खेलाडीले जनही ४ हजार रुपैयाँ प्राप्त गरे।
महिलातर्फ काठमाडौंकी मनिषा आले मगर प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद २० हजार रुपैयाँ प्राप्त गरिन्। झरना नगरकोटी उत्कृष्ट गोलरक्षक, सजिता कोइराला उत्कृष्ट डिफेन्डर र देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए। चितवनकी सुसिला केसी उत्कृष्ट मिडफिल्डर तथा प्रतिक्षा ठकुरी उत्कृष्ट फरवार्ड चुनिइन्।
पुरुषतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जित्यो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन उत्कृष्ट खेलाडी घोषित भए। उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। चितवनका मनोज गुरुङ उत्कृष्ट गोलरक्षक, विकल तामाङ उत्कृष्ट डिफेन्डर, सलिल ढकाल उत्कृष्ट फरवार्ड र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। मकवानपुरका सुजन गुरुङ उत्कृष्ट मिडफिल्डर बने।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका २ हजार ७०७ खेलाडी सहभागी भएका थिए। १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि प्रतिस्पर्धा भएको थियो।
समापन समारोहमा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल ले प्रदेश सरकार खेलकुद नीति निर्माण तथा पूर्वाधार विकासमा केन्द्रित रहेको बताइन्। परिषद्का सदस्य सचिव दीपक लामा ले प्रतियोगितालाई आगामी राष्ट्रिय खेलकुदका लागि छनोटको आधार बनाउन सकिने धारणा व्यक्त गरे।
























