साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार सङ्घ नेपालद्धारा अभिनन्दन

 दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार सङ्घ नेपालले विशेष सम्मानसहित अभिनन्दन गरेको छ।

सङ्घले आफ्नै कार्यालयस्थित सभाहलमा आयोजना गरेको कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको अध्यक्षता तथा वरिष्ठ गीतकार एवं पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा लक्समलाई अभिनन्दन गरिएको हो।

सन् १९४२ मा दार्जिलिङको पाँचपोखरीमा जन्मिएकी चन्द्रमीत लक्समले नेपाली गीत, कविता, अभिनय र उद्घोषण विधामा उल्लेखनीय योगदान दिएकी छन्। उनका ‘फूल फुल्न नदेउ मलाई’, ‘लैजाउ कतै समाल’ लगायतका गीतहरू नेपाली गीतसङ्गीत क्षेत्रमा विशेष रूपमा चर्चित छन्। उनका रचनामा कर्म योन्जन, अशोक राई, वसन्त क्षेत्री, गगन गुरुङलगायतले सङ्गीत भरेका छन् भने प्रेमध्वज प्रधान, अरुणा लामा, कुमार सुब्बा, लोचन भट्टराई, डेजी बराईली र पवन गोलेजस्ता ख्यातिप्राप्त गायक–गायिकाले स्वर दिएका छन्।

अभिनन्दनपछि मन्तव्य राख्दै साहित्यकार लक्समले गीतकार सङ्घले दिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गर्दै यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताइन्। नेपाली भाषा र साहित्य भूगोलभन्दा माथि रहेको उल्लेख गर्दै उनले नेपालसँगको भावनात्मक सम्बन्ध अझ गहिरिएको बताइन्।

कार्यक्रममा प्रमुख अतिथि एसपी कोइरालाले दार्जिलिङलाई नेपाली भाषा साहित्यको उर्बर भूमि भएको उल्लेख गर्दै चन्द्रमीत लक्समको योगदान प्रेरणादायी र अनुकरणीय रहेको बताए। उनले गीतकार सङ्घ र दार्जिलिङबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै स्रष्टालाई सम्मान गर्नु सङ्घको कर्तव्य भएको धारणा राखे।

कार्यक्रम समापन गर्दै अध्यक्ष वसन्त बित्यासी थापाले अग्रज स्रष्टा चन्द्रमीत लक्समलाई अभिनन्दन गर्न पाएकोमा गर्व अनुभूति भएको बताए। उनले दार्जिलिङ नेपाली गीतसङ्गीत र साहित्यको समृद्ध केन्द्र भएको उल्लेख गर्दै लक्समको योगदानको उच्च मूल्याङ्कन गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.