नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते गर्ने तयारी अघि बढाइएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आजै प्रमाणपत्र प्रदान गर्दैछ भने सोही दिन निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि गरिएको छ।
आयोगबाट औपचारिक जानकारी प्राप्त भएसँगै संघीय संसद् सचिवालयले शपथ कार्यक्रमको मिति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आयोगबाट चैत ५ गते प्रतिवेदन प्राप्त भएमा भोलिपल्ट सार्वजनिक सूचना जारी गरिनेछ।
शपथ मिति तय गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको छ। सहमति जुटेपछि चैत १२ गते शपथ गराउने गरी तयारी भइरहेको सचिवालयको भनाइ छ।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट यसपटक छ वटा दल राष्ट्रिय दलका रूपमा उदाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदा एमाले र नेपाली कम्युनिस्ट पार्टी त्यसपछिका प्रमुख शक्तिका रूपमा देखिएका छन्।
त्यस्तै, नयाँ रूपमा उदाएको श्रम संस्कृति पार्टी पाँचौँ स्थानमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ दल बनेको छ। यसपटक एक स्वतन्त्र उम्मेदवार पनि प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
शपथग्रहणसँगै नयाँ संसद् औपचारिक रूपमा सक्रिय हुने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।















































