हेटौँडा — बागमती प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत १८ जना कर्मचारीहरूको सरुवा तथा जिम्मेवारी परिवर्तन गरेको छ। प्रमुख सचिव बाबुराम अधिकारीको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपसचिव (नवौँ तह) देखि पाँचौँ तहसम्मका कर्मचारीहरूको स्थानान्तरण गरेको हो।
सरुवा सूचीअनुसार ३ जना उपसचिवसहित विभिन्न तहका कर्मचारीहरूलाई प्रदेशका विभिन्न कार्यालय तथा मन्त्रालयहरूमा पठाइएको छ। प्रदेश नीति तथा योजना आयोगकी उपसचिव प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा सरुवा गरिएको छ भने अनिता तामाङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौँडाको जिम्मेवारी दिइएको छ।
त्यस्तै, प्रदीपराज पौडेललाई प्रदेश सरकारी रजिस्ट्रार कार्यालय, काठमाडौँमा पठाइएको छ। विभिन्न मन्त्रालय र यातायात कार्यालयहरूमा कार्यरत अधिकृत तथा प्राविधिक कर्मचारीहरूको समेत व्यापक हेरफेर गरिएको छ।
प्रदेश सरकारका अनुसार यो सरुवा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो।















































