हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारमा आयोजित वडा स्तरीय “स्वस्थ बाल प्रतिस्पर्धा”मा २६ महिनाका जेनिश स्याङ्तान उत्कृष्ट घोषित भएका छन्। नामटार स्वास्थ्य चौकीको आयोजनामा ६ देखि ३६ महिनासम्मका बालबालिकाबीच स्वास्थ्य सूचकका आधारमा प्रतिस्पर्धा गरिएको थियो।
प्रतिस्पर्धामा ३४ महिनाकी आशिका रुम्बा द्वितीय र ३३ महिनाकी सन्ध्या बल तृतीय भएकी स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए। कार्यक्रममा ४६ जना बालबालिकाको सहभागिता रहेको थियो।
वडा नं. ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अध्यक्ष मुक्तानले स्वस्थ बालबालिकाको पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताए।
उनले “सुनौला हजार दिन” अवधिदेखि नै आमा र शिशुको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै बालबालिकाको मूल्यांकन सरकारी मापदण्डअनुसार गरिएको स्पष्ट पारे। साथै, बालस्वास्थ्यमा आमाको भूमिका महत्वपूर्ण हुने भन्दै सचेतना बढाउनुपर्नेमा जोड दिए।
उपाध्यक्ष बालकुमार मल्लले नियमित स्वास्थ्य परीक्षणमार्फत मात्र बालबालिकाको वास्तविक स्वास्थ्य अवस्था पत्ता लाग्ने बताए। उनले मापदण्ड पूरा नगर्दा नतिजा प्रभावित हुन सक्ने उल्लेख गर्दै अभिभावकलाई थप सचेत हुन सुझाव दिए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, सिनियर अहेव सुधिर महत्तो, नामटार स्वास्थ्य चौकी प्रमुख पंकज साह लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।















































