२० लाखको लगानीमा गाउँपालिका अध्यक्ष कालाखेतीद्वारा सडक ढलान

हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले करिब २० लाख रुपैयाँ व्यक्तिगत लगानी गरी सडक ढलान गरिदिएका छन् । मनहरी गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालयसम्म पुग्ने ६ मिटर चौडाईको करिब २०० मिटर सडक ढलान सम्पन्न गरी बिहीबार उद्घाटन गरिएको हो ।

स्थानीय ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तानबाट रिबन काटेर सडक उद्घाटन गरिएको हो । जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजना प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई ध्यानमा राखी व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले बताए । ‘धुलो र प्रदूषणका कारण टोलवासीलाई धेरै समस्या थियो । गाउँपालिकाबाट राखिएका योजनाहरु पनि कटौती गर्नुपर्ने बाध्यता परेपछि यो ठाउँमा तत्काल सडक ढलान आवश्यक देखेर आफ्नै लगानीमा काम गरेको हुँ,’ अध्यक्ष कालाखेतीले भने । उनले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा नलिएको र प्राप्त तलबभत्ता समेत जनतामै खर्च गर्दै आएका छन् ।

मनहरी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष राजकुमार पाख्रिनले गाउँपालिका अध्यक्षले व्यक्तिगत लगानीमा सडक स्ल्याब ढलान गरेकोमा खुसीका साथै आभार प्रकट गरे । २ नम्बर वडालाई राष्ट्रिय राजमार्गसम्मको पहुँच विस्तारका लागि सडक स्तरीकरण तथा पुल निर्माणमा पनि पहल कदमी गर्न पाख्रिनले अध्यक्ष कालाखेतीलाई आग्रह गरे ।मनहरी २ ले सधै सम्झिरहने गरि काम गर्न गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई अनुरोध समेत गरेका छन ।

सडक उद्घाटन कार्यक्रममा काँग्रेस वडा नम्बर २ का सभापति प्रेम गोङबा, सीता माविका अध्यक्ष राजकुमार थिङ,ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तान स्थानीयलगायतको उपस्थिति रहेको थियो । कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी–५ मा विपन्न एक परिवारको घर निर्माण गरिदिएका छन् । मनहरी–६ मा अर्को घर निर्माण कार्य भइरहेको छ । यस्तै, विपन्न बालबालिकाको लागि छात्रवृत्ति तथा पोसाकमा उनले तलबभत्ताबापत प्राप्त हुने रकम खर्च गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.