‘नेताले गल्ती गर्दा प्रश्न गर्नुस्’ : रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव

चितवन, असार ७ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले विगतमा आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाले त्यही गल्ती दोहोर्‍याउन नहुने बताए।

“तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्‍यौं, तपाईंहरूले नगर्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट गर्नुहोला,” उनले भने।

थापाले छोटो समयमै रास्वपाले प्राप्त गरेको जनमतलाई प्रशंसनीय उपलब्धि भन्दै त्यसको सही सदुपयोग गर्नुपर्ने धारणा राखे। चार वर्षको अवधिमै रास्वपाले हासिल गरेको जनसमर्थन नेपाली राजनीतिक इतिहासमा दुर्लभ रहेको उनको भनाइ थियो।

उनले इतिहासमा ठूलो जनमत प्राप्त गरेका दल र नेताहरू अहंकार, सत्ता मोह र आन्तरिक टकरावका कारण कमजोर बनेको स्मरण गराउँदै रास्वपालाई त्यस्ता गल्तीबाट बच्न सुझाव दिए।

“इतिहासमा यस्ता अवसर धेरै कम आएका छन्। तर नेताहरूको अहंकार र आपसी द्वन्द्वका कारण ती अवसरहरू जोगिन सकेनन्। रास्वपामा त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो चाहना हो,” उनले भने।

थापाले राजनीतिक प्रतिस्पर्धा स्वस्थ र मर्यादित हुनुपर्ने बताउँदै कुनै दललाई कमजोर बनाएर आफूहरू अगाडि बढ्न नचाहेको स्पष्ट पारे।

“हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौं। हामी आफैं राम्रो भएर, इमानदार भएर र राम्रो काम गरेर अगाडि बढ्न चाहन्छौं,” उनले भने।

संसदीय अभ्यासबारे बोल्दै उनले विपक्षी दलको दायित्व केवल विरोध गर्ने नभई राष्ट्रिय हितका विषयमा सरकारलाई साथ दिने पनि भएको बताए। सरकारले गलत काम गर्दा विरोध र सही काम गर्दा समर्थन गर्ने कांग्रेसको नीति रहेको उनको भनाइ थियो।

आफ्नो पार्टीतर्फ संकेत गर्दै थापाले कांग्रेस विगतका वर्षहरूमा सत्ता, गठबन्धन र चुनावी गणितमा बढी केन्द्रित भएको स्वीकार गरे। अब भने पार्टीभित्र सुधार, आत्मसमीक्षा र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.