चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन पछिसम्म सञ्चालन हुने भएको छ। प्रतिनिधिको संख्या अनुमानभन्दा धेरै बढेपछि र व्यवस्थापनमा थप समय आवश्यक परेकाले महाधिवेशन भदौ १० गतेसम्म लम्बिने संकेत देखिएको हो।
पार्टीका नेता तथा सांसद मनिष झा का अनुसार सुरुआतमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि हालसम्म ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि दर्ता भइसकेका छन्। यो संख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने उनको भनाइ छ। प्रवासबाट समेत अपेक्षाभन्दा धेरै प्रतिनिधि सहभागी भएको उनले बताए।
झाले पहिलो पटक आयोजना गरिएको महाधिवेशन भएकाले केही व्यवस्थापकीय चुनौती र कार्यविधिगत अनुभवको अभाव देखिएको स्वीकार गरे। यस्ता कमजोरीलाई पार्टीले आगामी दिनका लागि सिकाइका रूपमा लिएको उनको भनाइ छ।
महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको र सहमति सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गरिने तयारी रहेको उनले जानकारी दिए। छुटेका प्रतिनिधिहरूको दर्ता तथा व्यवस्थापनका लागि छुट्टै टोली परिचालन गरिएको समेत उनले बताए।
यसैबीच, नेता झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका छन्। प्रारम्भिक चरणमा केही अन्योल रहे पनि अब आफू पूर्ण रूपमा तयार भएको भन्दै उनले आगामी संगठन निर्माण र निर्वाचन तयारीका लागि महामन्त्रीको भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले पदलाई अवसरभन्दा बढी जिम्मेवारी र चुनौतीका रूपमा लिएको उल्लेख गर्दै आफ्नो अनुभव, क्षमता र सहकर्मीहरूको सुझावका आधारमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए। चितवनको गर्मी र व्यवस्थापनका केही कठिनाइका बाबजुद कार्यकर्ताको उत्साह र सहभागिता उल्लेखनीय रहेको उनको भनाइ छ।
























