चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले पार्टीभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बीच कुनै मतभेद नरहेको बताएका छन्।
भरतपुरमा जारी पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले ‘रवि–बालेन पक्ष’ भन्ने चर्चा निराधार रहेको दाबी गरे। पार्टीका सबै निर्णय लोकतान्त्रिक प्रक्रियाबाट हुने भएकाले गुटबन्दीको कुनै अर्थ नरहने उनको भनाइ थियो।
उनले महाधिवेशनका क्रममा सार्वजनिक रूपमा देखिएको एकता केवल औपचारिक प्रदर्शन नभई वास्तविक सम्बन्धको प्रतिबिम्ब भएको बताए। स्टेजमा देखिएको सहकार्य र समझदारी बाहिर पनि यथावत् रहेको उनको दाबी छ।
पोखरेलका अनुसार सभापति लामिछाने र प्रधानमन्त्री शाह दुवै पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सफल बनाउन केन्द्रित छन्। महाधिवेशनमा कुनै कमजोरी नहोस् भन्ने विषयमा दुवै नेताको समान चासो रहेको उनले बताए।
उनले पार्टी नेतृत्व र सरकार सञ्चालनका विषयमा पनि स्पष्टता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पूरा कार्यकाल नेतृत्व गर्ने विषयमा कुनै अन्योल नरहेको बताए। सभापति र प्रधानमन्त्रीबीचको आपसी विश्वास व्यवहारमै देखिने गरेको उनको भनाइ छ।
‘दुवै नेताबीच जति विश्वास छ, त्यो शब्दभन्दा व्यवहारले बढी प्रमाणित गरिरहेको छ,’ पोखरेलले भने।
























