राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज सञ्चालन हुने भएको छ। सोमबार बिहान सुरु गर्ने तय गरिएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछाडि सरेको थियो।
बन्दसत्रका लागि बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण गर्ने कार्यतालिका रहे पनि निर्धारित समयपछि पनि वितरण प्रक्रिया सुरु हुन सकेको थिएन। पार्टीका पदाधिकारीहरूबीच आवश्यक समन्वय र छलफल जारी रहेकाले परिचयपत्र वितरण छिट्टै सुरु हुने जनाइएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले राति छापिएका परिचयपत्र सम्बन्धित प्रदेशमार्फत वितरण गरिने जानकारी दिएका छन्। सातै प्रदेश, समायोजन तथा प्रवासतर्फका प्रतिनिधिका परिचयपत्र छुट्टाछुट्टै स्थानबाट सहज रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
परिचयपत्र वितरण सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यसूचीअनुसार बन्दसत्र अघि बढाइने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवातमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि पनि प्रतिनिधिहरूबीच विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
पार्टीको नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रिया अघि बढिरहेको अवस्थामा बन्दसत्रलाई रास्वपाको प्रथम महाधिवेशनको निर्णायक चरणका रूपमा हेरिएको छ।
























