हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माणका लागि व्यक्तिगत खर्चबाट सहयोग गरेका छन् ।
मुख्यमन्त्री बानियाँले सोमबार मनहरी गाउँपालिकामार्फत सुनारलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पाँच वर्षअघि श्रीमान्को निधन भएपछि कठिन जीवनयापन गर्दै आएकी सुनारको अपाङ्ग छोरा संगम सुनारसमेत छन् । थातथलो बनाउन नसकेकी उनीप्रति समाजसेवीको सिफारिसपछि गाउँपालिकाले सहयोगका लागि पहल गरेको थियो ।
मुख्यमन्त्री बानियाँले यसअघि नै आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम विपन्न नागरिकको घर निर्माणमा प्रयोग गर्ने घोषणा गरेका थिए । सोही अनुसार उनले यसपटक मिठुमायाको घर बनाउन रकम सहयोग गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सहयोग कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष यादव थपलिया, समाजसेवी प्रकाश वर्तौला र मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरसहितको उपस्थितिमा सम्पन्न भएको थियो ।
सहयोग प्राप्त रकमबाट दुई कोठा, भान्सा, शौचालय र बाथरुमसहितको घर निर्माण गरिने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।





















































