हेटौंडा । सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको विरोधमा जेन–जी पुस्ताले सोमबार देशव्यापी आन्दोलन गरेका छन् । त्यसको प्रभाव मकवानपुरमा समेत देखिएको छ, जहाँ हजारौँ युवाहरु सडकमा उत्रिएर बृहत् प्रदर्शन गरेका छन्।
हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न सडकमार्ग हुँदै सानोपोखरा–हुप्रचौर र बुद्धचोकसम्म युवाहरुले र्याली निकालेका थिए। सहभागीले भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध नाराबाजी गर्दै अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सरकारको कडा आलोचना गरेका छन्।
सन् १९९७ देखि २०१२ सम्म जन्मेका युवालाई जेन–जी पुस्ता भनिन्छ। यही पुस्ता सामाजिक सञ्जालमा सर्वाधिक सक्रिय रहेको र सरकारले लगाएको प्रतिबन्धले उनीहरु प्रत्यक्ष प्रभावित भएको भन्दै आन्दोलनमा अगाडि देखिएका हुन्।
‘जेन–जी युवाहरु सडकमा’ भन्ने मूल नारासहित सुरु भएको अभियानमा कन्टेन्ट क्रिएटर्स र विद्यार्थीसमेत खुलेर समर्थन गरेका छन्। स्कुल ड्रेस र पुस्तक बोकेर आन्दोलनमा सहभागी हुन युवाहरुलाई आव्हान गरिएको छ।
यसबीच, टिकटक लगायतका डिजिटल प्लेटफर्ममा ‘नेपो बेबी’ नामक ट्रेन्डले पनि आन्दोलनलाई थप उर्जा दिएको छ। ‘नेपोटिजम’ बाट आएको ‘नेपो बेबी’ भन्ने शब्दले शक्ति र सम्पत्तिमा पारिवारिक नातागताले विशेष अवसर पाएका व्यक्तिहरूलाई जनाउँछ। युवाहरुले नेताका सन्तान र उच्च पदस्थ परिवारका सम्पन्न जीवनशैली देखाउने तस्बिर तथा भिडियो सार्वजनिक गर्दै असमानताको विरोध गरिरहेका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे थप छलफल जारी रहे पनि युवापुस्ताको आन्दोलन तत्काल रोकिएको छैन। आन्दोलनकारीले सामाजिक सञ्जालमा मात्र होइन, सडकमा पनि प्रतिरोधलाई निरन्तरता दिने चेतावनी दिएका छन्।



































