हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, ९१ प्रशिक्षार्थी सहभागी

हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशस्तरीय ‘कम्युनिटी कोचिङ कोर्स’ हेटौंडामा सुरु भएको छ। तल्लो तहबाट फुटबलको विकास गर्दै दक्ष प्रशिक्षक उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कोर्सको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामा ले गरेका हुन्।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको कोर्समा बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जना प्रशिक्षार्थी सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा एन्फा केन्द्रीय सदस्य टिका लामा, परिषद्का सदस्य सविन भट्टाचार्य तथा प्रशिक्षकहरू टेकनारायण श्रेष्ठचेतन घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक अमृत लुङ्बा का अनुसार तालिममा सहभागीहरूलाई फुटबलका आधारभूत सिद्धान्त, खेल कौशल, प्रशिक्षण पद्धति तथा खेलका आधुनिक नियमबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

जेठ २७ गतेसम्म सञ्चालन हुने कोर्स सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले भविष्यमा एन्फाको ‘सी’ लाइसेन्स कोचिङ कोर्समा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। आयोजकले यस तालिमले प्रदेशमा फुटबल प्रशिक्षकको क्षमता अभिवृद्धि गर्दै खेलको आधारस्तर बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.