–रामकुमार एलन
भूमिकाः
समाजको सृष्टि समयसमयमा विभिन्न अगुवाबाट गरिएको हुन्छ । कोही न कोहीले यस्तो हिम्मत गर्नैपर्छ । अघिल्लो इतिहासलाई छोएर पछिल्लो पहिचान प्रमाणिकरण सबैभन्दा ठूलो चुनौती हो । त्यो चुनौती पार गरेर सर्वस्वीकृत अखिलेखिकरण क्रममा यस्ता सृष्टिले अघिल्लो सृष्टिलाई कतै ओझेलमा पार्छ त कतै अरु प्रकाशमा ल्याउँछ । यसका लागि बोल्नु पर्छ । कथ्यलाई लिखितम गरिनुपर्छ । लिखितम प्रमाणिकरण या सर्वस्वीकृत भएपछि त्यही नै अर्को सृष्टि नभएसम्म जीवित रहन्छ । इतिहास बन्छ । यही तथ्यलाई हामीले अध्ययनको आधार बनाएर आफ्नो बाँकी जिन्दगीका अवयव पार लगाउँदै जाने हो ।
विकिपिडियाले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाबारे त्यस्तो धेरै विवरण दिँदैन । यसका लागि मनहरीबारे जानेमानेकाले नै विकिपिडियामा अभिलेखिकरण गर्नुपर्छ । मनहरी गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकामध्ये एक हो । २०७३ फागुन २७ गते साविकका हाँडिखोला र मनहरी गाउँ विकास समिति गाभिएर मनहरी गाउँपालिका घोषणा भएको हो । हाँडिखोलाका ९ वटा वडालाई पाँच वटा र मनहरीका ९ वटा वडालाई ४ वटा वडामा गाभेर ९ वटा वडा बनाइएको हो । राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार मनहरी गाउँपालिकाको कुल जनसंख्या ४७ हजार ३ सय ५३ छ । १० हजार ७ सय २४ घरधुरी छन् । २५ हजार भन्दा बढी मतदाता छन् । एउटा एफएम पनि छ । महाविद्यालय छ । अचेल अंग्रेजीमा क्याम्पस, कलेज लेख्ने चलन छ । विभिन्न जिल्ला र पालिकाबाट मनहरी बसाइँसराइमा हेटौँडापछि मकवानपुरमै दोस्रो रोजाइमा पर्ने भूगोल हो ।
साहित्य के हो ?
साहित्य कुनै लिखित सामग्री हो । विधागत हिसाबले झट्ट भन्नुपर्दा कविता पहिला आउँछ । गद्य र पद्य कवितासँगै कथा, मुक्तक, गजल, निबन्ध, संस्मरण हुँदै पुस्तकाकार रुपमा उपन्यास, नाटक, खण्डकाव्य, महाकाव्य यसका विशाल रुप हुन् । साहित्य कलाविधाको एक रूप हो । कलात्मकता वा बुद्धिमत्ता यसमा जरुरी हुन्छ । सामान्य लेखनभन्दा कुनै विशेष तरिकाको लेखाइले पाठक, स्रोतालाई आकर्षित पार्दछ । सांसारिक वा ब्रह्माण्डीय विचार, भावना, सौन्दर्य र कलाको इन्द्रीयमार्फत वा लेखकको वास्तविक जीवनका भावना उजागर भएको हुन्छ । सामान्यमा भन्नु पर्दा सबैको हित हुने गरी लेखिनु साहित्यको साधारण परिभाषा हो ।
पत्रकारिता के हो ?
पत्रकारिता सत्यतथ्य घटनामा आधारित भएर सञ्चारमाध्यमबाट आमनागरिकलाई जानकारी गराउने कर्म हो । यो विस्तारै सेवा उद्योगका रुपमा स्थापित हुँदै गएको छ । पत्रकारितालाई राज्यले चौथो अंग मानेको छ । यो दुई धारको तरबार हो भनेर केहीले भनेका छन् । राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँड योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्ति प्रयोगमा आउनसकेको छैन । सत्तामा पुगेकाहरुले सञ्चारकर्मीमार्फत आफ्ना जनमुखी क्रियाकलाप सञ्चार गर्न हिच्किचाउँछन् । सरकारी कार्यालयका भित्तामा प्रवक्ता र सूचना अधिकारीको तस्बिर र सम्पर्क नम्बर टाँस्ने परिपाटी शुरु भएको छ, यो पत्रकारिताकै वकालत हो । तर तिनीहरु नै सम्पर्कमा आउँदैनन्, परेका बेला सूचना नै दिँदैनन् भनेर राष्ट्रिय सूचना आयोगमा सरकारी निकायबारे पनि उजुरी पर्ने गरेको छ । सैद्धान्तिक ज्ञान र व्यवहारिक लेखन सन्तुलित गर्नसक्ने हरनागरिक पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा स्थापित र कुशल पत्रकार वा सञ्चारकर्मी बन्न सक्छ । सामाजिक सञ्जालले क्षमतावान पत्रकारलाई चाँडै लोकप्रियताको शिखर पनि चढाउँछ र सानो कमजोरीमा आलोचनाको तिर हानेर सुलीमा पनि चढाउँछ । त्यसैले अक्षर अक्षरमा होस पु¥याउनु पर्छ ।
अब मनहरीको प्रसंगः
हाँडिखोला र मनहरी रापती खोला वारिपारीका दुई भूगोल समेटेर बनाइएको मनहरी गाउँपालिकाका आआफ्नै इतिहास छन् । २०१७ सालमा धादिङ, नौबीसेका जिमिन्दार नरहरि उप्रेतीले हाँडिखोलामा बस्ती राख्नेबारे राजा महेन्द्र शाहसँग अनुमति लिएका थिए । त्यतिखेर जंगलका कुकाठ, ढलापडा उठाउने भनेर निवेदन हाल्ने र पछि त्यहाँ बस्ती बसाउने चलन थियो । हाँडिखोलाको शुरुवातकर्ता उप्रेतीबारे लिखित प्रमाण कतै छैन । उसो त फाट्टफुट्ट बस्ती २०११ सालदेखि नै बस्न थालेको कथ्य छ । लिखित केही छैन ।
कथा भने अरु रोचक छ । सुपारेटार हो या भीमफेदीमा राजा महेन्द्र सवारी हुँदा जिमिन्दार उप्रेतीले राजा भेटेर निवेदन दिन खोजेका थिए । तर राजाका सुरक्षागार्डहरुले धकेलेर पानीमा निथ्रुक्क भिजाइदिए । फेरि पनि उप्रेतीले पिछा गर्न छाडेनन्, हेटौँडातिर आइपुग्दा राजासँग भेट भयो । निवेदन दिइएपछि बस्ती बसाउने अनुमति भयो । शुरुमा यो ठाउँको नाम हरिणपुर थियो । हरिण जनावरको नाम भएकाले फेरेर हाँडिखोला राख्ने भनियो । कोहीले लामिटारतिर हाँडिखोलाको शिरमा हाँडीजस्तो भएकाले पनि हाँडिखोला नाम राखेको भन्ने गरेका छन् । यसरी आजको विशाल हाँडिखोलाको शुरुवातकर्ता नरहरि उप्रेती हुन् भन्ने मान्यता छ । यसलाई पछि विभिन्न समयकालमा विस्तार गर्ने अरु धेरै छन् । जस्तो चकरी–मकरीको शुरुवातकर्ता चक्रबहादुर चेपाङ र मकरबहादुर चेपाङ थिए । उनीहरुले फाँडेकाले ‘चक्रेमक्रे’ भन्दाभन्दै पछि चकरीमकरी भयो । बस्ती बसाउने, नाम राख्ने कुरामा चेपाङहरुकै नाम अगाडि आउँछ, मनहरीको नाम पनि शुरुमा चेपाङ भाषामै थियो भनेर अर्को अनुच्छेदमा रोचक कहानी पाउनुहुनेछ ।
मनहरीकै कुरा गरौँ, मनहरी मकवानपुरमा सबैभन्दा कान्छो पञ्चायत हो । मनहरीको पुल वारिपारी दुई वटा जिल्ला थिए भन्ने धेरैलाई थाहा नहुन सक्छ । मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष, जनमुखी सहकर्मी रुपचन्द्र विष्टका सहयात्री एकराज उप्रेतीका अनुसार, अहिलेको मनहरी बजार त्यतिखेर चितवनको पिप्ले गाउँपञ्चायतको वडा नम्बर ८ थियो । लोथर, सुनाचुरी, मनहरी चितवनमा पर्दथ्यो । यो २०३५ सालमा पुनर्संरचना भएको हो । यता मनहरी बजारबाट पुल पार गरेर हेटौँडा आउने बस्ती ज्यामिरे भन्छौँ, यो चैँ बसामाडी गाउँ पञ्चायतको वडा नम्बर ४ थियो । बसामाडीको महेन्द्र किरण माध्यमिक विद्यालयकै शाखाका रुपमा ज्यामिरेमा महेन्द्र किरण माध्यमिक विद्यालय २०२६ सालमा खोलिएको हो । पछि चितवनको लोथरखोला पूर्व र बसामाडीको नेवारपानी पश्चिम गाभेर ज्यामिरे गाउँपञ्चायत बनाइयो ।
२०३८ सालको कुरा हो, पालुङका रुपचन्द्र विष्टले राष्ट्रिय पञ्चायतको चुनाव जित्नु भयो । त्यसपछि २०३९ सालमा मनहरीमा गाउँ पञ्चायतसभा भयो । पश्चिम मकवानपुरकै तिक्ष्ण प्रतिभावान व्यक्तित्व हुनुहुन्थ्यो विष्णुहरि सुवेदी । गाउँपञ्चायत सभामा रुपचन्द्र विष्टले भन्नुभयो, ‘यस्तो कञ्चन मनहरी खोला बगेको छ, पञ्चायतको नाम किन ज्यामिरे राख्ने, मनहरी राखे हुन्छ ।’ नभन्दै गाउँ पञ्चायत सभाबाट मनहरी गाउँपञ्चायत नामकरण भयो । त्यसपछि प्रधानपञ्च विष्णुहरि सुवेदीले पनि राष्ट्रिय पञ्चायतको चुनाव उठ्न गाउँपञ्चायतको प्रधानपञ्चबाट राजीनामा दिनुभयो र मनहरी गाउँपञ्चायतको प्रधानपञ्च बाबुलाल सुवेदी हुनु भयो । मनहरी गाउँपञ्चायत मकवानपुरको कान्छो पञ्चायत यसकारण भनिएको हो ।
मनहरीकै केही रोचक प्रसंग नयाँ पुस्तालाई भनौँ ।
अहिलेको मनहरी बजारको पहिलो नाम ‘बाङनाम’ थियो । अर्थात् चेपाङहरुले नै यसको नाम राखेका थिए । पछि चितवनसम्म जाने बाटो खुलेपछि फायरलाइन भनियो र चितवनको माडीबाट मकवानपुरको भैँसे बजारसम्म आउनेजाने भरिया हिँड्ने यही बाटो भयो । तोरी बोक्ने भरियाहरु मनहरीमा बास बस्ने गर्थे । यसपछि ‘बाङनाम’को नाम बदलियो र ‘ढाक्रेढुंगा’ भयो । चेपाङ भाषामा बाङ भनेको ढुंगा हो । नाम भनेको ठूलो, घना अतवा बाक्लो, धेरै भन्ने हुन्छ । धेरै ढुंगा भएकाले यसलाई बाङनाम भनिएको हुनसक्छ । ढाकर बोक्नेहरु बास बस्ने थलो भएकाले यसको नाम बाङनामबाट ‘ढाक्रे ढुंगा’ भयो ।
पछि ज्याम्सी गाडी नेपाल भित्रिएर यही बाटो हुँदै चल्न थाले । विस्तारै ढाक्रेढुंगामा पनि चहलपहल बढ्यो । केहीले पसल खोले । भैँसेबाट टिनमा मट्टीतेल ल्याएर बेच्न थाले । यसको नाम ‘क्यान्टिन बजार’ भयो । लिखत त छैन, एकपटक पालुङका रुपचन्द्र विष्टको चारवटा खसी सिमभन्ज्याङमा चराउनेक्रममा हरायो । राजनीतिक पहुँच भएका रुपचन्द्रले प्रहरी थानामा खसीचोर पत्ता लगाउन भने र नभए राज्यसँग हर्जाना लिने भने । त्यतिखेर पालुङ चौकीमा प्रहरीका हबल्दार थिए कि ? प्रहरीले खसी पत्ता लगाएन । खसी चोर पनि हेराएर पत्ता लाग्छ र यस्तो जान्ने मनहरीमा विष्णुहरि सुवेदीे छ भन्ने भएपछि रुपचन्द्र विष्ट ढाक्रे ढुंगापछि बनेको क्यान्टिन बजार आउनु भयो ।
अहिलेको मनहरीको पुरानो पुलतिर मगर दाइको होटल थियो, त्यहाँ विष्णुहरि सुवेदीसँग कुरा हुँदा सुवेदीले खसी भेटिन्न भन्नुभएपछि रुपचन्द्रले राज्यसँग खसीको राहत रकम लिनु भयो भन्ने भनिन्छ । त्यहीक्रममा यस्तो राम्रो मनहरीको पानी छ । यो बजार बन्दै जान्छ । यसको नाम पनि मनहरी बजार राखे हुन्छ भनेर सुझाव दिनुभयो र क्यान्टिन बजारलाई मनहरी बजार भनिन थालियो । आज त्यही मनहरी बजार विशाल बनेको छ । यो २०२६–२७ सालतिरको कुरा हो । यसरी चेपाङको बाङनाम, ढाक्रेढुंगा, क्यान्टिन बजार हुँदै मनहरी बजार भयो भने रुपचन्द्रकै अनुरोध गाउँपञ्चायत गरेर पछि ज्यामिरे पञ्चायतबाट मनहरी पञ्चायत भयो ।
मनहरी बजारमा बस्ती बस्न थाल्यो, चारचौरासका मान्छे आउन थाले । अब यहाँको बस्ती सरकारी नापजाँच गर्ने कुरा भयो । हेटौँडाको बुद्ध शालिक चोकनिर थियो ४ नम्बर नापी गोश्वारा टोली कार्यालय । त्यसका प्रमुख हुनुहुन्थ्यो टीकादत्त पौडेल । पौडेलका छोरामा ईश्वर पौडेल पालुङबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुुनुहुन्छ । उनै टीकादत्त पौडेलले मनहरीको नापजाँच गर्नु भएको हो । त्यहाँ बस्नेहरुलाई जग्गाधनी पूर्जा दिन नापजाँच गर्न त्यतिखेर फित्ता नभएर सिक्रीले नापजाँच भएको भनिन्छ । अझ रमाइलो त गोश्वारा टोलीले आग्रा गाउँपञ्चायत (हाल थाहा नगरपालिकामा गाभिएको) नापजाँच गरेपछि मनहरी नापेको हो । आग्रा २०२९ सालमा र मनहरी २०३० सालमा नापजाँच भएको हो । २०३३ सालमा पौडेल अवकाशप्राप्त हुनुभयो । अब तपाईंलाई मनहरी र हाँडिखोलाको इतिहास सामान्य जानकारी भयो, जो जरुरी छ । २०११ सालतिरै हरिणखोलामा जंगल फाँडेर बस्ती बसाउने काम भएको थियो तर यसको लिखत मात्रै २०१७ सालतिर भएको हो भन्ने पनि छन् । २०५१ सालतिर हाँडिखोला गाउँ विकास समितिमा नवराज लुईंटेलले हाँडिखोलाबारे केही लिखत अनुसन्धान बुझाउनु भएको थियो । त्यो लिखत अहिले भेटिन्न । लुईंटेलसँग पनि त्यसको छायाप्रति छैन ।
थाहा पाउनु भयो, मनहरीको इतिहास मनहरी खोलासँग जोडियो । नेपालमा मात्रै होइन, संसारमै खोला, नदीलाई ‘आमा’ मान्ने र ठाउँको नाम खोलाका नाममा राख्ने चलन छ । त्यसैले मनहरी खोला र मनहरी गाउँपञ्चायत हुँदै गाउँ विकास समिति भयो । मनहरी खोला मनहरी बजारमै हाँडिखोलापट्टिको रापती खोलामा मिसिएपछि रापती खोला नै हुन्छ, मनहरी खोलाको अस्तित्व रापतीमा सकिइरहँदा हाँडिखोलाको नाम पनि गाभिएर मनहरी गाउँपालिकामा नामकरण भएको छ । उसो त रापती खोलाको पुरानो नाम रजैया वारिपारी अक्षिरावती भन्ने छ । पछि ऐरावती हुँदै रापती भएको हो । यसैको नाम हेटौँडाको शिर कुष्माण्डमा रत्नावती (रापती), कर्णावती (कर्रा) र कौशबाहिनी (कुख्रेनी) उल्लेख छ ।
००००













































