पश्चिम मकवानपुरको मनहरीमा साहित्य र पत्रकारिताको पृष्ठभूमि–२

–रामकुमार एलन

साहित्य
मनहरी र हाँडिखोलाका साहित्यकारहरुको पुरानो इतिहास पाउन कठिन छ । केही व्यक्तिबारे सुनिएका, भनिएका, सुनाइएका विषय मात्रै यो लेखमा उल्लेख छ । पछि उहाँहरुका बारे गहन अध्ययन, खोजिनीति गरेर अर्को लेख वा पुस्तक प्रकाशन गर्नेछु । यसपटक बालमनोविज्ञानमा घुस्न सक्ने, बस्न सक्ने र पछि मनहरीबारे यस्तो रहेछ भनेर भन्नसक्ने बनाउनु मात्रै यो लेखको उद्देश्य हो । बाँकी पछि गहन आलेख पस्कने अनुमति चाहन्छु ।

२०४० सम्म पञ्चायतको दबदबा थियो । गाउँमा पढ्न, लेख्न परे पञ्चायत, राजाको बखान मात्र सम्भव थियो । जनता परिवर्तन खोजिरहेका थिए, यस्ता अभ्यास लुकिछिपी गर्नु पर्ने बाध्यता थियो । त्यतिमात्रै होइन, पत्रिका पढ्न हेटौँडा बजार आउनु पथ्र्यो । छापाखाना हेटौँडामै थिए । यसैले गाउँमा चोकचौतारामा केहीले आफ्ना सिर्जना सुनाए पनि त्यसको लिखत छैन । अहिलेजस्तो सामाजिक सञ्जालको पहुँच नभएकाले प्रकाशित कृतिको अभिलेख पनि छैन । आवरणसमेत संग्रह गर्न सकिएको छैन । स्रष्टाहरुका परिवारसँग पनि कृति छैन ।

यसैक्रममा निम्न नामहरु साहित्यमा सम्झन चाहन्छौँ
१. विष्णुहरि सुवेदी
विष्णुहरि सुवेदी मनहरी गाउँपञ्चायतको तत्कालीन प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँ बिछट्टै प्रतिभा भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले एउटा कृति पनि प्रकाशन गर्नु भएको थियो । सुवेदीको कविता संग्रहको नाम अखण्ड दीप (२०३६) थियो । शुद्ध नेपाली श्लोक प्रकारमा लेखिएको थियो । धर्म र राजसंस्थाको बखान पनि थियो । आदर्शवादी कविता थियो । राजा र धर्म मान्नुपर्छ भन्ने भावना समेटिएको थियो । प्रधानपञ्च हुँदैगर्दा २०३८ सालमा राष्ट्रिय पञ्चायतमा उठ्ने भनेर प्रधानपञ्चबाट राजीनामा दिनु भएको थियो । उहाँ ज्यामिरे पञ्चायतको जानेमानेका ज्योतिष पनि हुनुहुन्थ्यो । स्वयम् रुपचन्द्र विष्टसमेत खसी हराएको चोर फेला पर्छ कि भनेर ज्यामिरेमा विष्णुहरिलाई हेराउन आउनु भएको भन्ने छ । यसको लिखत चैँ नभएको एकराज उप्रेती सुनाउनु हुन्छ । उहाँको श्लोकशैलीको कृतिमा राजा र धर्मबारे बताइएको थियो भनेर मनहरीकै साहित्यकार मातृका ढुंगाना बताउनु हुन्छ । सुवेदीको परिवार अहिले पनि मनहरीको ज्यामिरेमा छ ।

२. बलराम पौडेल
कास्कीबाट हाँडिखोलाको भोजसिद्ध माध्यमिक विद्यालयमा आउनु भएका शिक्षक बलराम पौडेल निकै राम्रो कविता लेख्नुहुन्थ्यो । साहित्यरसमा निपुण पौडेलले कोही मान्छे रिसाए कविता भनेर मन्त्रमुग्ध पार्न सक्ने खालको हुनुहुन्थ्यो भनेर उहाँका विद्यार्थी र पछि सहकर्मी हुनु भएका मधुसुधन खनाल सुनाउनुहुन्छ । बहुत प्रतिभावान यस्ता व्यक्तिले हाँडिखोलामा परिवारसहित बसोबासको योजना बनाउनु भएको थियो । दुःखद यो भयो कि २०४३ सालमा रजैयाँमा उहाँलाई रापती खोलाले बगायो । परिवार पोखरा नै फर्किए । उहाँको लिखित कुनै कविता त छैन । तर ४० को दशकमा पौडेलले हाँडिखोलामा गर्नु भएको साहित्य उन्नयनलाई सम्मान गर्नेहरु अहिले पनि छन् ।

३. बद्री प्रसाद अर्याल
रुपचन्द्र विष्ट राजनीतिक पथप्रदर्शक, थाहा आन्दोलनका प्रणेता र जनमुखी राजनीतिका मकवानपुरका राष्ट्रिय अनुहार हुनुहुन्छ । उहाँ चुरोटका जरीमा लेखेर त्यो बेचेको खर्चले जनतासँग राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले याक चुरोटका जरी (झिल्झिले)मा लेखेर चेतना जगाउन गाउँगाउँ पु¥याउनु हुन्थ्यो, बेच्नु हुन्थ्यो । उहाँका प्रत्येक पर्चाका मूल्य हुन्थे । मकवानपुरको दामनका रुपचन्द्र विष्ट जसरु अर्थात् जनमुखी सहकर्मी रुपचन्द्र विष्ट, रुदाने अर्थात् रुपचन्द्र विष्ट, दामन नेपाल लेख्नुहुन्थ्यो । उहाँको शब्द एकदम नेपाली भाषाका झर्रा हुन्थे । यस्तै कविता लेख्ने अर्का व्यक्तित्व हुनुहुन्थ्यो हाँडिखोलाका बद्री अर्याल । जसलाई अहिले पनि मनहरीमा ‘सदस्य बद्री’ भनेर सबैले चिन्छन् । रुपचन्द्रकै शैलीमा कविता लेख्ने, एकलाइनका अक्षरहरुमा कविता लेख्ने अर्यालका अद्भूत क्षमता थियो । एकदिन हाँडिखोलाकै एउटा कार्यक्रममा उहाँले प्रश्न सोध्नु भयो । रुपचन्द्र विष्टले जिस्केर वा के सोचेर एक थप्पड हान्नु भयो । रुपचन्द्र विष्ट थप्पडा खाने उहाँ मात्र होइनन्, मकवानपुरमा धेरै सहकर्मीका रुपचन्द्रसँग ‘मुक्का अनुभूति’ छ । हेटौँडाका घरमा, हाँडिखोलामा सान्नानीटारको रिमालको चियापसलमा सदस्य बद्री र रुपचन्द्र सँगै हुनेथिए । स्कुटर लिएरै रुपचन्द्र सदस्य बद्रीको घर पुग्नुहुन्थ्यो । रुपचन्द्रको यो व्यवहारको प्रतिवाद गर्दै सदस्य बद्री अर्थात् बद्री अर्यालले राति नै कविता लेखेर छपाउनु भयो । कविता थियोः
मुखमा कुकुर, पिठमा थाहा,
गर्भेटाउको, बलमिचाहा
पैसा भन्दा ज्यानै फाल्ने,
जवाफ नपाए हातै हाल्ने ।

यो घटनापछि रुपचन्द्र विष्ट राष्ट्रिय पञ्चायत बैठकमा जानु भयो । यता सदस्य बद्रीको प्रतिवाद कवितामा आयो । रुपचन्द्रलाई विरोध गर्ने भनेर अरुले डराउन पनि भने । संयोगले फेरि सान्नानीटारको रिमालको चियापसलमा रुपचन्द्र आउनु भएको थाहा भयो । यतिखेर सदस्य बद्रीसँग छोरा प्रकाश अर्याल पनि हुनुहुन्थ्यो । अरुले त्यहाँ नजानु, रुपचन्द्रले के भन्नुहोला, फेरि पिट्नुहोला भनेर सचेत गराए । सदस्य बद्री ‘नमस्कार दाइ’ भन्दै जानु भयो ।
रुपचन्द्रले माया गरेर ल यहाँ आएर बस मात्रै भन्नु भएन । मेराबारे यस्तो लेखेका रहेछौँ, मैले एउटा पर्चा मेरो काठमाडौँको घरमा, दुई वटा राष्ट्रिय पञ्चायतमा टाँसिदिए । त्यति मात्रै होइन, मेराबारे यस्तो लेख्ने मकवानपुरको हाँडिखोला वडा नम्बर ६ को सदस्य बद्री भनिने बद्री अर्यालको कुरा सुन्नपर्यो भनेर शून्य समयमा पढेर पनि सुनाएँ । एउटा भातेले मेरो कुरा बुझेको भनेर सदस्य बद्रीलाई रुपचन्द्रले पनि प्रशंसा गरेको किस्सा रोचक छ ।

बद्री अर्याल, पञ्चायतकालीन ६ नम्बरका वडाध्यक्ष हुनहुन्थ्यो । अत्यन्त छोटा कविता लेख्ने, गजल शैलीमा लेख्ने प्रजातान्त्रिक विचारधाराका तर रुपचन्द्र विष्टसँग निकट भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँको २०५७ सालमा ‘मासुको प्रसाद’ कविता संग्रह प्रकाशन भएको छोरा प्रकाश अर्यालले बताउनु भयो । जनताको काममा रमाउने, चौतारामै सामान्य जीवन यापन गरेर जिन्दगी बिताएका सदस्य बद्री काम लिएर आउनेसँग आफ्नो पारिश्रमिक माग्न रुचाउनुहुन्थेन नै, पैसा छैन भन्ने सेवाग्राहीलाई खाजा खुवाएर गाडी भाडा दिएर पठाउने गर्नुहुन्थ्यो भनेर सम्झना गरिन्छ । उहाँको कविता मकवानपुरका जनता खसीभेडा होइनन् भन्ने निकै चर्चित थियो । २०३६ सालको जनमत संग्रहमा उहाँको कविता रेकर्ड गरेर गाउँगाउँमा सुनाइएको थियो । २०३६ सालतिरै सदस्य बद्रीका कविता वीरगंजबाट प्रकाशित हुने मालिंगो साप्ताहिक, हेटौँडामा भीम विराग सम्पादक रहेको नारायणी साप्ताहिकमा छापिने गथ्र्यो ।

४. गौरीशंकर लामा
गौरीशंकर लामा पश्चिम मकवानपुरका चेतनशील नागरिक हुनुहुन्छ । उहाँले बुद्ध धर्मसम्बन्धी प्रार्थना पुस्तक हो । देवनागरी लिपिमा थियो । २०५९ प्रकाशन भएको थियो । बुद्धधर्मको प्रार्थनालाई अनुवाद गरिएको हो ।

५. प्रेमकाजी श्रेष्ठ
प्रेम काजी श्रेष्ठले २०३९ सालमै कविता लेखेर पत्रिकामा प्रकाशित गराउनु भएको थियो । अहिले क्रियाशील हुनुहुन्छ ।

६. नरहरिनन्दन उप्रेती
नरहरिनन्दन उप्रेती व्यवस्था परिवर्तनका पक्षमा चोटिलो कविता लेख्ने स्रस्टा हुनुहुन्छ । साविकको हाँडिखोलाका उप्रेतीले २०४० तिर नै पञ्चायत पाmल्न जरुरी रहेको विचारलाई कवितामा लेख्नु हुन्थ्यो । उहाँले लेख्ने कविता काठमाडौँबाट प्रकाशन हुने पदम ठकुराठीको पत्रिका, यस्तै दृष्टि साप्ताहिक, छलफल साप्ताहिक, चित्रण साप्ताहिकमा प्रकाशन हुन्थे । २०५४ सालसम्म कविता लेखनमा सक्रिय उहाँको कृति भने प्रकाशन भएको छैन । हाँडिखोलका सबै स्रस्टाहरुको कविताहरु छापिएका कृति र पत्रिका पनि उप्रेतीले संग्रह गर्नु भएको थियो । पछि धमिराले आफ्नासहित सबै संग्रहित रचना धूलीसात पारेको उहाँ सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘व्यवस्थाविरोधमा लेख्नु चुनौती थियो, हेटौँडामा कविता छापिने अवस्था थिए, काठमाडौँमा कविता छाप्ने व्यवस्था त्यतिखेरका नेता अनन्त पौडेलले गर्नुहुन्थ्यो ।’ अनन्त पौडेल नेकपा एमाले मकवानपुरमा १६ वर्ष र साविकको नारायण अञ्चलनमा १० वर्ष सचिव हुनुभएका नेता हुनुहुन्छ । हाल पनि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

७. विनोद सुवेदी आरोही
मकवानपुरको मनहरीका विनोद सुवेदी आरोपी शिक्षक हुनुहुन्थ्यो । अक्षर चिनाउने पहिलो गुरू मेरो बुबापछि विद्यालयमा औपचारिकरुपमा अक्षर चिनाउने अर्को गुरू उहाँ हुनुहुन्छ । उहाँले मकवानपुरका धेरै विद्यालयमा पढाउनु भयो । उहाँ कविता लेख्नु हुन्छ । अहिले सामाजिक सञ्जाल मेटा, टिकटकमा पनि विनोद आरोही भनेर भेटिनहुन्छ । उहाँले मकवानपुर जिल्ला पञ्चायका उपसभापति कृष्णबहादुर बर्तौलासँग पनि संगत गर्नु भएको थियो । कृष्णबहादुर बर्तौलाका केही झ्याउरे श्लोक शैलीका कृति प्रकाशन भएका थिए । उहाँको सगतबाट लेख्न उत्प्रेरित सुवेदीले सयपत्री साहित्यिक पत्रिकाको सम्पादक भएर २०५५–५६ सालमै मनहरीमा साहित्यिक पत्रकारिता पनि गर्नु भएको थियो ।

८. मातृका ढुंगाना
मातृका ढुंगाना राजनीतिक चेतले भरिपूर्ण शिक्षाप्रेमी हुनुहुन्छ । उहाँ मनहरीमा शैक्षिक उन्नयनमै सक्रिय हुनुहुन्छ । उहाँ कविता लेख्नु हुन्छ । उहाँले २०४२ सालमै मनहरीमा कविता लेखेर भीम विराग सम्पादक भएको पत्रिकामा छपाउनु भएको थियो । भीम विरागको हेटौँडामा प्रेस र पत्रिका थियो । पत्रिकाको नाम अठोट थियो । २०५३ सालमा मनहरीबाट प्रकाशित साहित्यिक पत्रिका सयपत्रीको सहसम्पादक हुनुहुन्थ्यो । प्रज्ञा प्रतिष्ठानको मुखपत्र सयपत्रीसँग नाम जुधेपछि यो प्रकाशन बन्द भयो । ५० पृष्ठ बढीको साहित्यिक पत्रिका थियो ।

९. गोविन्द ढकाल
अत्यन्त सुन्दर कविता लेख्नुहुने गोविन्द ढकाल साविकको हाँडिखोला–६ का बासिन्दा हुनुहुन्छ । उहाँको ‘सिमलको भुवा’ उपन्यास र ‘सिमाली कविता संग्रह’ प्रकाशन भएको छ । उहाँ पहिला विभिन्न भूगोलमा गाविस सचिवका रुपमा क्रियाशील हुनुहुन्थ्यो । पछि बसाइँ सरेर चितवन जानु भयो ।

१०. प्रकाश अर्याल
पश्चिम मकवानपुरको हाँडिखोला–६ कै प्रकाश अर्याल नेपाली साहित्यमा चर्चित गीतकारका रुपमा प्रसिद्ध हुनुहुन्छ । रेडियो नेपाललगायतका विभिन्न स्टुडिओमा उहाँका ७० भन्दा बढी गीत रेकर्ड भएका छन् । २०५१ सालमा रंगपत्रकारितामा जोडिनु भएका प्रकाश अर्यालले ढुकढुकी सिनेपत्रिका प्रकाशन गर्नु भयो । पछि उहाँ यातायात विधाको पत्रकारितामा जोडिनु भयो । अहिले पनि राष्ट्रिय यातायात पत्रकार मञ्चका महासचिव रहनु भएका अर्याल सदस्य बद्रीकै छोरा हुनुहुन्छ ।

११. नवराज डोटेलः
नवराज डोटेल, मकवानपुरको हाँडिखोलाका स्रस्टा हुनुहुन्छ । वडा नम्बर १ का डोटल साहित्यमा एनडी विश्वाशी भनेर चिनाउनु हुन्थ्यो । उहाँका ३ कृति प्रकाशित छन् । २०४६ अघि देखि लेखनमा सक्रिय डोटेलले २०६६ सालसम्म लेखिरहनु भयो ।
उहाँको जनताका स्वर, सुमधुर सन्देश गद्यकविता श्लोक (२०५२) र हाम्रा गीत र कविता (२०५६) मा प्रकाशित छन् । एउटा कृति खण्डकाव्य छाप्न हेटौँडाको मातृभूमि छापाखानामा पठाइएको थियो, छापाखानाबाटै हराएको छ । अरु पनि पाण्डुलिपि रहेको उहाँले बताउनु भयो ।

१२. विनोद अर्याल
पश्चिम मकवानपुरको हाँडिखोलाका विनोद अर्याल २०५१ सालमा रंग पत्रकारिताबाट पत्रकारितामा क्रियाशील हुनुभयो । उहाँ काठमाडौँबाट पत्रकारितामा क्रियाशील हुनुभयो । अर्यालले शुरुमा जयप्रकाश त्रिपाठी सम्पादक रहेको ढुकढुकीबाट पत्रकारिता शुरु गर्नुभयो । पछि ‘फिल्मस्टार’मा पनि जयप्रकाश त्रिपाठीसँगै काम गर्नुभयो । यो पत्रिका पवन थापा ‘कुन्तल’को थियो । यसमा ऋषि धमलाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तरवार्ता लिनु भएको छ । अर्यालले पछि साप्ताहिक जनसत्तामा रामचन्द्र न्यौपानेसँग काम गर्नुभयो । अनि सन्ध्याकालीन दैनिकमा केशव देवकोटासँग काम गर्नुभयो । यसपछि सिनेपत्रिका गीताञ्जलीमा काम गर्नुभयो । पछि आफैँले ‘रमझम’ सिनेपत्रिका प्रकाशन गर्नु भयो । ‘फिल्मी खबर’ साप्ताहिक निकाल्नु भयो । अनि इमेज टिभीमा कार्य गर्नुभयो । लगत्तै सगरमाथा टेलिभिजन र एबीसी टेलिभिजनमा कार्य गरेर मकवानपुर फर्कनु भयो । यसअघि उहाँ चलचित्र पत्रकार संघको महासचिव हुनुभयो । चलचित्र ‘माया त माया हो’ होका निर्माता बन्नु भएका अर्यालले तुल्सी घिमिरेलाई निर्देशक राखेर चलचित्र बनाउनु भयो । पश्चिम मकवानपुरमै अधिकांश भूमिमा छायांकन भएको चलचित्र ‘माया त माया हो’ मा सञ्चिता लुइँटेल, निखिल उप्रेतीको अभिनय छ । चलचित्र निर्माता संघको कार्यसमिति सदस्यसमेत हुनु भएका अर्याल यी सबै रमझमबाट अलग भएर २०६८ देखि रजैयाँस्थित अग्निहोत्री आश्रममा क्रियाशील हुनुहुन्छ ।

१३. श्यामकुमार बानियाँ
पश्चिम मकवानपुरको मनहरी–७, बिजौनाका श्यामकुमार बानियाँ मकवानपुरका सिद्धहस्त लेखक, साहित्यकार, गीतकार हुनुहुन्छ । उहाँ साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष र मृगतृष्णा कला साहित्य डबली (२०५७)को संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको २०५६ सालमै ‘प्रतीक्षा’खण्डकाव्य, २०६३ मा ‘अतृप्त खण्डहर’ संयुक्त कवितासङ्ग्रह प्रकाशन भएको छ ।
यस्तै, २०६३ मै ‘अतीतको आँगनीमा’ खण्डकाव्य प्रकाशन भएको छ ।
उहाँले ‘बारुद’, ‘पलाँस’, ‘अक्षय अक्षर’, ‘सौरभ’ साहित्यिक पत्रिका सम्पादन गर्नु भएको छ । पत्रकारितामा क्रियाशील बानियाँले ‘हेटौँडा टुडे’, ‘बलिदान’, ‘भूमध्यरेखा’ साप्ताहिक, जनमुखी मासिकमा सम्पादनमा सरिक हुनुहुन्थ्यो । अहिले भीम विराग संगीत साहित्य कला प्रतिष्ठानमा आवद्ध हुनुहुन्छ । शैक्षिक पाठ्यक्रम लेखक बानियाँ हेटौँडा उपमहानगरको स्थानीय पाठ्यक्रम लेखक टोलीमा आवद्ध हुनुहुन्छ । २०५३ सालमै रेडियो नेपाल उत्कृष्ट पत्र लेखन, रश्मि नवप्रतिभा (२०५७), गजलश्री (२०६३), नारायणी वाङ्गमय पुरस्कारमा बानियाँ सम्मानित हुनुहुन्छ । पछिल्लो समय बानियाँले १० भन्दा बढी गीत लेखन र स्वरांकन गर्नु भएको छ ।

१४. रामकुमार एलन
मनहरी–७ मनहरी बजारका रामकुमार एलन पत्रकारितामा क्रियाशील नाम हो । यसका अलावा उहाँले ५० को दशकपछि पत्रकारितालाई मूलधार बनाएर साहित्य सिर्जनामा पनि क्रियाशील हुनुहुन्छ । पलाँस हवाई पत्रिका, बाडुली हवाई पत्रिकालगायतमा सम्पादक भएका एलन अहिले पनि राष्ट्रियस्तरको पत्रकारितामा स्थापित हुनुहुन्छ । उहाँको बोक्सी उद्योग नाटक काठमाडौँको कुञ्ज थियटरमा प्रदर्शन भएको थियो । २०७० सालमा उहाँको स्याउली सिम्फोनी उपन्यास प्रकाशन भएको थियो । यसअघि २०५७ मा हवाईगजल संग्रह ‘तिमीहामीले जे गरे पनि हुन्छ यार’ प्रकाशन भएको थियो । एलनले गीत पनि लेख्नु भएको छ । गजल, कविता, कथा, नाटक, मुक्तकमा पनि कलम चल्ने गरेको छ । हवाई साहित्य समूह नेपाल, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल पत्रकार महासंघमा पनि क्रियाशील एलनलाई विभिन्न राष्ट्रियस्तरका पत्रकारिता र साहित्यका पुरस्कार र सम्मान प्राप्त छ । भारतमा पनि सम्मान गरिएको छ ।

१५. गोविन्द पौडेल
गोविन्द पौडेल मनहरी–७ का साहित्यकार हुनुहुन्छ । उहाँ हास्यव्यंग्य विधानमा बढी लेख्नु हुन्छ । मनहरीमा एफएम स्थापना, साहित्यिक पत्रिका प्रकाशनमा क्रियाशील उहाँ सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष हुनुहुन्छ । उहाँको गिलासवाद पुस्तक प्रकाशित छ । साहित्यमा क्रियाशील पौडेल विविध विधामा कल चलाउनुहुन्छ ।

१६. सम्प्रस पौडेल
हास्यव्यङ्ग्य विधामा लेखनमा अब्बल सम्प्रस पौडेल मकवानपुरको हाँडिखोलाको हुनुहुन्छ । उहाँ सिस्नुपानी नेपाल मकवानपुरको अध्यक्ष हुनुहुन्छ ।

१७. केशव समर्पण
मकवानपुरको पत्रकारितामा क्रियाशील नाम हो केशव समर्पण । साविकको हाँडिखोलाका समर्पण साहित्यमा मकवानपुरकै अब्बल गजलकार हुनुहुन्छ । उहाँले हाँडिखोलाबाट गजल मञ्च मकवानपुरको नेतृत्व गरिसक्नु भएको छ । गायनसहितको गजलवाचनमा सिद्धहस्त समर्पण गजल मञ्च मकवानपुरको पूर्वअध्यक्ष हुनुहुन्छ ।

हाल क्रियाशील मनहरीका साहित्यकारहरु
१. विनोद आरोही
२. मातृका ढुंगाना
३. श्यामकुमार बानियाँ
४. रामकुमार एलन
५. रामशरण पुडासैनी
६. गोविन्द पौडेल
७. शिवकुमार काशी
८. प्रतिमा पाठक
९. भानुभक्त विष्ट
१०. गोविन्द बर्तौला
११. तुल्सीराम बानियाँ
१२. केशव समर्पण
१३. रजनी पौडेल
१४. सम्प्रस पौडेल
१५. शरण बानियाँ
१६. शुक्र अतीत
१७. सुन्दर लामा (गीत, गायन)
१८. लालकुमारी रुम्बा

अग्रज साहित्यकारहरुः
१. मधुसुधन खनाल । हाँडिखोला, डिल्लीपुरका खनाल २०३८–४० सालमा कविता लेख्नुहुन्थ्यो ।
२. गंगादत्त सिलवाल २०४८–५० सालमा कविता लेख्नुहुन्थ्यो ।
३. सोमनाथ खनाल २०३८–४४ सालमा कविता लेख्नुहुन्थ्यो ।
४. यदुकुमार तिवारी (महेन्द्र माविमा पढाउनु हुन्थ्यो) दिवंगत हुनुहुन्थ्यो । परिवर्तनका पक्षमा कविता सुनाउनुहुन्थ्यो । उहाँ भुन्द्रुङको हुनुहुन्थ्यो ।
५. हाँडिखोला, दर्दराका रामजी अर्याल २०५० अघि लेख्नुहुन्थ्यो । पञ्चायती व्यवस्थाको समर्थनमा हुनुहुन्थ्यो ।
५. कृष्ण पौडेल, अखिलका नेता हुनुहुन्थ्यो, व्यवस्था परिवर्तनका पक्षमा लेख्नुहुन्थ्यो । पाण्डुलिपि पनि तयार थियो । प्रकाशन हुन सकेन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.