मनहरी। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर—२मा रहेको सीता माध्यमिक विद्यालयले आफ्नो ५० औं जन्म जयन्ती (स्वर्ण महोत्सव) मनाउन तयारी तीव्र बनाएको छ। पौष २१–२३ गतेसम्म विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत स्वर्ण जयन्ती उत्सव मनाउने तयारी गरेको हो।
स्वर्ण जयन्तीको तयारीस्वरूप विद्यालयले विद्यालयको सभाहलमा पूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। अन्तरक्रियामा सहभागीहरूले विद्यालयको विगत, वर्तमान र भविष्यलाई जोड्ने गरी सबै पक्षको अपनत्व झल्किने खालको स्वर्ण जयन्ती मनाउनुपर्ने सुझाव दिएका छन्। साथै, विद्यालयको दीर्घकालीन विकास योजनाको स्पष्ट खाका तयार गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
विद्यालयका प्रधानाध्यापक विशाल घलानले अनुसार महोत्सवको अवसरमा हाजिरी जवाफ कार्यक्रम, नित्य प्रतियोगिता तथा समारोह कार्यक्रम सञ्चालन हुनेछन्। विशेष कार्यक्रमको रूपमा राष्ट्रपति रनिङ्ग शिल्डा प्रतियोगिता पौष २५–२७ गते मनहरीमा आयोजना हुने भएकोले विद्यार्थी, शिक्षक र अभिभावकहरुमा उत्साह बढेको छ।
प्रधानाध्यापक घलानले भने, “विगतमा हाम्रो विद्यालयले पालिकामै शैक्षिक नतिजाबाट उत्कृष्ट स्थान हासिल गरेको थियो। तर केही वर्षदेखि विविध कारणले गुणस्तरमा कमी आएको छ। यस स्वर्ण महोत्सवले शिक्षक, विद्यार्थी र अभिभावकको मनोबल बढाउने र विद्यालयको पहिचान फेरि उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।”
विद्यालयले कार्यक्रम सफल बनाउन सक्दो सहयोग र सहभागिताको हार्दिक अनुरोध गरेको छ। साथै, महोत्सवबाट संकलन भएको बाँकी रकम आर्थिक अवस्था कमजोर र अशक्त विद्यार्थीको पढाइमा सहयोग गर्ने गरी अक्षय कोषमा राखिने व्यवस्था गरिएको छ।
प्रधानाध्यापक घलानले समुदायलाई यो अवसरमा विद्यालयको योगदान र शैक्षिक महत्व बुझ्न आग्रह गर्दै, सबैलाई कार्यक्रममा सहभागी हुन र सहयोग गर्न अनुरोध गरेका छन



































