शिक्षा सँगै संस्कृतको संरक्षण: हेटौँडा स्थित संस्कृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

नेपाल ज्योतिष परिषद्को २८औं स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालय (हेटौँडा गुरुकुल)मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थिहरूका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमको आयोजनामा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य गणेश धिताल प्रमुख अतिथि रहनुभएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा परिषद्का केन्द्रीय सदस्य होमनाथ न्यौपाने तथा संस्कृत वेद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल ज्योतिष परिषद्का पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाल ज्योतिष परिषद्को तर्फबाट विद्यालयलाई १०८ थान कापी र ३२ प्याकेट कलम प्रदान गरिएको जानकारी परिषद्का सचिव जिवराज बख्रेलले दिनुभएको हो। परिषद्ले भविष्यमा पनि शैक्षिक र सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले गुरुकुल शिक्षाको संरक्षण र प्रवद्र्धनमा यस्ता सहयोगात्मक पहलहरूको महत्त्वको कुरा गर्दै, यसले विद्यालयका गतिविधिहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। प्रमुख अतिथि गणेश धितालले नेपाल ज्योतिष परिषद्ले सञ्चालन गर्ने यस्ता शैक्षिक र सामाजिक कार्यक्रमहरूले संस्कृत शिक्षा र गुरुकुल परम्पराको संरक्षणमा ठूलो योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो।

धितालले परिषद्को भावी योजनाबारे जानकारी दिँदै भने, “ज्योतिष शास्त्रमा रुचि राख्ने युवाहरूका लागि निःशुल्क ज्योतिष प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ। यसले गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक र शास्त्रीय ज्ञान प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राख्दछ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले प्राप्त शैक्षिक सामग्री सहयोगको महत्त्व र प्रभावकारिता प्रकट गर्दै परिषद्को आभार व्यक्त गर्नुभयो। उनले यस सहयोगले विद्यालयका शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिन प्रेरणा दिने विश्वास व्यक्त गरे।

सभाध्यक्ष ध्रुवप्रसाद सापकोटाले नेपाल ज्योतिष परिषद्को भविष्यका कार्यक्रमहरूलाई उल्लेख गर्दै, “हामीले शिक्षा, संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता दिनेछौं,” भन्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.