मनहरी । मकवानपुरको मनहरीमा तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा ‘छेरेङ्गै तथा बृहत सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। मञ्जुश्री सम्वत् २८६२ (ता ल्हो घोडा वर्ष) को अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रम माघ ०४ गते मकवानपुरको मनहरी–७, समनटारमा सञ्चालन हुने भएको हो।
तामाङ संस्कृतिमा विशेष महत्व राख्ने छेरेङ्गै कार्यक्रम बाँचिरहोस्, फुलिरहोस्, शुभ रहिरहोस् तथा लामो आयु र सुस्वास्थ्यको कामनासहित आशीर्वाद दिने परम्परासँग जोडिएको सांस्कृतिक विधि भएको सोनाम ल्होछार मुल आयोजक समितिका संयोजक क्षेत्र बहादुर मोक्तानले बाताए । उनका अनुसार आफ्नो ठाउँमा , टोलमा भेला भई सांस्कृतिक कार्यक्रम सहितको छेरेङ्गै कार्यक्रम गरिने र सो क्रममा दान–दक्षिणा एकै स्थानमा संकलन गर्ने चलन रहेको छ।
कार्यक्रममा तामाङ समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति, गीत–संगीत, नृत्य तथा परम्परागत गतिविधिहरू प्रस्तुत गरिने आयोजक समितिका संयोजक मोक्तानले जानकारी दिए । कार्यक्रममार्फत तामाङ भाषा, संस्कार, संस्कृति तथा लिपिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको रूपमा विकास गर्न योगदान पुर्याउने उद्देश्य राखिएको उनले बताए ।
विशेष गरी नेपालमा तामाङहरूलाई प्रकृति प्रेमी समूदायका रुपमा चिनिन्छ। ल्होछारमा छोरी चेलीलाई बोलाएर भेटघाट र आर्शिवाद लिनेदिने लगायत विभिन्न कार्यक्रमहरु गरि मनाइन्छ । तामाङ घेद्ङका अनुसार सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ।
तामाङ समुदायले मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई चन्द्र पात्रो भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।गुरुङले मनाउने ल्होसारलाई तोल ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ ।
सोनाम ल्होछार पर्व नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको घेदुङले बताए । यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वार लगायत अन्य मनमोहक सजावटले वौद्धविहार गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ । विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।



































