मनहरीमा एमालेको शक्ति प्रदर्शन: उपाध्यक्षसहित प्रभावशाली नेताहरू पार्टीमा पुनः प्रवेश

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको मनहरीमा राजनीतिक समीकरण तीव्र रूपमा बदलिन थालेको छ। नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ।

बैठककै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मनहरी गाउँपालिका उपाध्यक्ष राम बहादुर दर्जीसहित विभिन्न प्रभावशाली नेताहरू एमालेमा पुनः फर्किएका छन्। एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश कुमार बर्तौलाले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो।

पार्टी प्रवेशपछि बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा फर्किनुलाई “आफ्नै घर फर्किएको अनुभूति” भन्दै आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजनीतिक रूपमा अर्थपूर्ण मानिएको अर्को घटनाक्रममा, अघिल्लो निर्वाचनमा बर्तौलाको विपक्षी क्याम्पको नेतृत्व गरेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक भने बर्तौलाकै मुख्य चुनावी कमान्डरको भूमिकामा देखिनुभएको छ। निर्वाचन परिचालन कमिटीको सहसंयोजकको जिम्मेवारी लिँदै उहाँले विगतको सहयोगको ऋण यसपटक मनैदेखि चुकाउने बताउनुभयो।

कार्यक्रममा मनहरीका पूर्व गाउँपालिका अध्यक्ष एकाराज उप्रेतीले मध्यवर्ती क्षेत्रको जटिल समस्या समाधान गर्न बर्तौला नै सक्षम विकल्प भएको दाबी गर्नुभयो।

उम्मेदवार बर्तौलाले आफ्नो ३२ महिनाको संसदीय कार्यकालको समीक्षा गर्दै बाँकी अधुरा काम पूरा गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। भूमिहीन तथा अव्यवस्थित बसोबास र मध्यवर्ती क्षेत्रसम्बन्धी कानुनी समस्यामा नीतिगत तहबाट पहल सुरु भइसकेको उहाँको भनाइ थियो।

बैठकले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै मनहरीमा पार्टी संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ। कार्यक्रममा एमाले केन्द्रिय सदस्य भारती पाठकसहित जिल्ला तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.