हेटौंडा । पछिल्ला केही दिनदेखि मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोला तथा हेटौंडा–१९ सानान्टार क्षेत्रमा गैंडा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
स्थानीयको अनुरोधपछि पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई वटा हात्ती प्रयोग गरी गैंडालाई सुरक्षित रूपमा उसको प्राकृतिक बासस्थानतर्फ लैजाने प्रयास भइरहेको छ। शुक्रबार मनहरी गाउँपालिका–३ लामिटारको भोटेखोल्सी क्षेत्रमा देखिएको गैंडालाई दुई वटा हात्ती र तीन वटा ट्याक्टरको सहायतामा प्रतापपुरको जंगलतर्फ लैजाने प्रयास गरिए पनि सफल हुन सकेन।
सेना, प्रहरी तथा स्थानीयको सहयोगमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले गैंडालाई ‘कोर एरिया’तर्फ लैजान दिनभर प्रयास गरेको थियो। गैंडा मनहरी गाउँपालिका–९ जैसिङ खरंगाको जंगलभित्र पसेपछि हात्तीसहितको टोली त्यहीँ निगरानीमा बसेको छ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत लामिटार पोष्टका रेञ्जर प्रणय झाले दिनभर प्रयास गरे पनि गैंडालाई सुरक्षित रूपमा कोर एरियामा पुर्याउन नसकिएको जानकारी दिए।
“गैंडा डिल्लीपुर माथिको भाइरल पुल नजिकको जंगलमा गएको छ, हात्तीको टोली पनि त्यहीँ छ,” उनले भने, “आज (शनिबार) बिहानबाट पुनः हात्ती गस्ती सुरु गरिनेछ।”
उक्त गैंडा मनहरी गाउँपालिका–६ स्थित प्रतापपुरको जंगलबाट समूहबाट छुट्टिएर वस्तीमा पसेको हुनसक्ने अनुमान गरिएको छ। “धनजनको क्षति हुन नदिन र गैंडालाई सुरक्षित बासस्थानमा फर्काउन प्रयास भइरहेको छ,” उनले थपे, “यसमा सेना, प्रहरी तथा स्थानीयवासीको सहयोग मिलिरहेको छ।”
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत उज्वल भविष्य मध्यवर्ती उपभोक्ता समितिका सचिव जयराम रिजालले गैंडालाई वस्ती क्षेत्रबाट जंगलतर्फ लैजान निकुञ्जसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताए।
“दुई वटा हात्तीसहितको टोलीलाई स्थानीय तीन वटा ट्याक्टरको सहयोगमा मनहरी–३ लामिटारबाट मनहरी–९ जैसिङसम्म पुर्याइएको छ,” उनले जानकारी दिए।
उनले स्थानीय बासिन्दालाई साँझ र बिहान अनावश्यक रूपमा बाहिर ननिस्कन तथा गैंडा वा अन्य जंगली जनावर देखिएमा तुरुन्त समिति वा निकुञ्जलाई जानकारी गराउन अनुरोध गरेका छन्।




































