आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ लाई पूर्ण रूपमा लागू गर्दै त्यसको पालना गराउन सक्रियता बढाएको हो।
माघ ४ गतेदेखि लागू भएको आचारसंहिता पालना गर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासहित २१ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। तीमध्ये पाँच जनाबाट मात्र जवाफ प्राप्त भएको र बाँकीको हकमा ताकेता भइरहेको छ।
निर्वाचन आचारसंहिताविपरीत मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी बढाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो।
आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा सक्रिय रहेको जनाइएको छ। इकाइले पहिचान गरेका ३ सय २ हानीकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।
आचारसंहिता विपरीतका गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश वा जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ।






















































