जिल्लास्तरीय पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा, चार टोली अन्तिम चारमा

हेटौंडाको टिसिएन चौरमा सञ्चालन भइरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ। सोमबार सम्पन्न क्वाटरफाइनल खेलबाट चार टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

क्वाटरफाइनल चरण पार गर्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लव, बज्रबाराहीको नवप्रतिभा क्लव, मनहरी गाउँपालिका र हेटौंडा–११ को छहारी युवा क्लव सेमिफाइनलमा पुगेका छन्।

पहिलो क्वाटरफाइनल खेलमा मंगलेश्वर युवा क्लवले मिलन युवा क्लवलाई २५–२० र २५–१४ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गर्यो। त्यसपछि भएको खेलमा नवप्रतिभा क्लवले बागमती गाउँपालिकामाथि २५–१९ र २५–१८ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो।

त्यस्तै अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा–१५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। दिनको अन्तिम खेलमा छहारी युवा क्लव हेटौंडा–११ ले पशुपति युवा क्लव हेटौंडा–९ लाई २५–१४ र २५–१८ को नतिजामा हराउँदै सेमिफाइनलको टिकट काट्यो।

अब फाइनल प्रवेशका लागि मंगलेश्वर युवा क्लव र नवप्रतिभा क्लव तथा मनहरी गाउँपालिका र छहारी युवा क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। सेमिफाइनल खेल मंगलबार बिहान हुनेछन् भने फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीले समान १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.