इनिशा विक हत्याकाण्डविरुद्ध काठमाडौंमा प्रदर्शन, दोषीलाई कडा सजायको माग

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाले देशव्यापी आक्रोश सिर्जना गरिरहेको छ। यसैक्रममा राजधानी काठमाडौंको माइतीघर मण्डलामा मंगलबार खबरदारी प्रदर्शन गरिएको छ।

संयुक्त नागरिक पार्टीका विद्यार्थी तथा महिला विभागको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले पीडितलाई न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न सरकारलाई दबाब दिएका छन्। उनीहरूले समाजमा बढ्दो महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न राज्य गम्भीर बन्नुपर्ने माग समेत अघि सारेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘इनिशाको हत्यारालाई कारबाही गर’, ‘बलात्कारको अन्त्य गर’, ‘सुरक्षित समाज निर्माण गर’ र ‘बलात्कारीलाई कडा सजाय देऊ’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले यस्ता जघन्य अपराधमा राज्य मौन बस्न नहुने चेतावनी दिँदै पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी इनिशाको पोस्टमार्टम रिपोर्टले उनलाई बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ।

घटनामा संलग्न शंकास्पद व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ। यद्यपि, प्रदर्शनकारीहरूले अनुसन्धान प्रक्रिया प्रभावकारी र पारदर्शी हुनुपर्नेमा जोड दिँदै निरन्तर दबाब दिइरहने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.