हेटौँडा । बागमती प्रदेश सरकारले रक्तसञ्चार सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरूलाई आधुनिक ब्लड बैंक रेफ्रिजेरेटर उपलब्ध गराएको छ।
बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ ले रसुवा र सिन्धुपाल्चोकबाहेक ११ जिल्लाका रेडक्रस प्रतिनिधिलाई रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभयो। प्रदेश सरकारले रक्तसञ्चार सेवाको गुणस्तर सुधार तथा रगतको सुरक्षित भण्डारण सुनिश्चित गर्न उपकरण उपलब्ध गराएको जनाएको छ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार प्रतिगोटा २ लाख ७५ हजार ५५५ रुपैयाँ मूल्यका ११ थान रेफ्रिजेरेटर करिब ३१ लाख रुपैयाँ लागतमा खरिद गरिएको हो। प्राविधिक परीक्षणपछि ती उपकरण सम्बन्धित जिल्लाका ब्लड बैंकलाई हस्तान्तरण गरिएको बताइएको छ।
२३० लिटर क्षमताका यी रेफ्रिजेरेटरमा एकैपटक १५० वटा ब्लड ब्याग सुरक्षित राख्न सकिनेछ। उपकरणमा अटोमेटिक डिफ्रोस्ट, थर्मल इन्सुलेसन तथा डाटा व्यवस्थापनजस्ता आधुनिक सुविधा समावेश छन्।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले रक्तसञ्चार सेवा पारदर्शी, जिम्मेवार र सेवामुखी बनाउन रेडक्रसलाई आग्रह गर्नुभयो। रगत सङ्कलनदेखि वितरणसम्मका प्रक्रियामा सेवाग्राहीका गुनासा आउन नदिन विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ले ब्लड बैंकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रेफ्रिजेरेटर सहयोग कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। विपद्, महामारी र आकस्मिक अवस्थाहरूमा रेडक्रसले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सरकार–रेडक्रस सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।
प्रदेश सरकारले विपन्न नागरिकलाई लक्षित स्वास्थ्य सेवा विस्तारसँगै रक्तसञ्चार प्रणालीलाई थप भरपर्दो बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
























