हेटौंडा अस्पतालमा २ करोड ५० लाखको ‘लिक्विड वेस्ट ट्रिटमेन्ट प्लान्ट’ निर्माण हुँदै

हेटौंडा । हेटौंडा अस्पताल ले अस्पतालबाट निस्कने तरल तथा रसायनजन्य फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक ‘लिक्विड वेस्ट ट्रिटमेन्ट प्लान्ट’ निर्माण गर्ने भएको छ।

अस्पताल परिसरभित्र उत्पादन हुने फोहोर पानीलाई सुरक्षित रूपमा प्रशोधन गरी वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित प्लान्ट निर्माण कार्य अघि बढाइएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा का अनुसार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ र आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यसअघि अस्पतालमा उत्पादन हुने तरल फोहोर संकलन गरेर राख्ने व्यवस्था भए पनि दीर्घकालीन प्रशोधन प्रणालीको अभावका कारण व्यवस्थापनमा चुनौती देखिँदै आएको थियो। सोही समस्यालाई समाधान गर्न गत असोजमा टेन्डर प्रक्रिया सुरु गरिएको र हाल निर्माण कार्य अन्तिम चरणतर्फ पुगेको अस्पतालले जनाएको छ।

करिब २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त प्लान्टले प्रतिघण्टा १० हजार लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता राख्नेछ। प्रशोधनपछि पानी पुनः प्रयोगयोग्य बन्ने भएकाले अस्पतालको फोहोर व्यवस्थापन प्रणाली थप प्रभावकारी र वातावरणमैत्री हुने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनले यो परियोजनाले स्वास्थ्य संस्थाबाट निस्कने तरल फोहोरको सुरक्षित व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.