हेटौँडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियान तीव्र गतिमा अघि बढिरहेको बताए। बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाउँदै संगठन सुदृढीकरण र विस्तारको काम भइरहेको उनको भनाइ थियो।
विगतको निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसके पनि जनताको विश्वास भने कायमै रहेको दाबी गर्दै उनले देशभर पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उल्लेख गरे। यही विश्वासलाई आधार बनाएर आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने लक्ष्य पार्टीले लिएको उनले बताए।
घिसिङले राजनीतिक यात्राको सुरुआती चरणमा अनुभवको कमीका कारण विभिन्न चुनौती र षड्यन्त्रको सामना गर्नुपरेको स्वीकार गरे। तर अब पार्टी थप परिपक्व बनेको भन्दै भविष्यमा कुनै पनि राजनीतिक जालझेलको सिकार नहुने उनको भनाइ थियो।
उनले उज्यालो नेपाल पार्टीको स्वतन्त्र पहिचान र सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि अवस्थामा पार्टीलाई अर्को दलमा विलय नगरिने स्पष्ट पारे। विभिन्न राजनीतिक दलबाट नेता–कार्यकर्ता पार्टीमा जोडिने क्रम बढिरहेको उल्लेख गर्दै उनले वैचारिक आधारमा हुने एकता र सहकार्यलाई स्वागत गरिने बताए।
आगामी आठ–नौ महिनाभित्र निर्वाचनको माहोल सुरु हुने उल्लेख गर्दै घिसिङले बागमती प्रदेश मात्र नभई अन्य प्रदेशमा पनि सरकार गठन गर्ने लक्ष्य पार्टीले राखेको बताए। जनताको भरोसा, पार्टीको दृष्टिकोण र नेतृत्वप्रतिको विश्वासका आधारमा उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उनको दाबी छ।
























