मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १०ः५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सिन्धुली कमलामाई नगरपालिका–९ भिमानका अन्दाजी ४०/४२ वर्षीय बोधराज बुढाथोकी र बारा पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादवको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार रहेका तथा यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत इन्जिनियर रहेको खुलेको छ।
दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना तथा काठमाण्डौ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट खटिएको संयुक्त उद्धार टोलीले दुवै जनालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले मृतकको शव हेटौंडा अस्पतालमा राखिएको जनाएको छ। साथै सवारी चालकलाई तीव्र गति नियन्त्रण गर्न, सडक तथा मौसमको अवस्थाबारे सचेत रहन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
























