थाहा, असार १५ । थाहा नगरपालिकामा आयोजित सातौं उपमेयर कप डबल्स मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल बिष्ट र रोशन गोपालीको जोडीले जितेको छ।
रोमाञ्चक फाइनल खेलमा सुनिल बिष्ट र नवीन रायमाझीको जोडीलाई पराजित गर्दै बिमल–रोशन च्याम्पियन बनेका हुन्।
उपाधिसँगै विजेता टोलीले नगद २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सुनिल–नवीनको टोलीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
यस्तै, सुवास–नारायण र इशाक–नरेन्द्रको टोलीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्दै जनही नगद ६ हजार ५ सय रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नरेन्द्र लामा ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गरे।
१३ टोलीको सहभागिता रहेको प्रतियोगिताको आयोजना थाहा नगरपालिकाले गरेको थियो भने व्यवस्थापन थाहा नगर ब्याडमिन्टन संघले गरेको थियो।
प्रतियोगिताको दोस्रो पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको थियो। सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी र उत्कृष्ट खेलाडी पुरस्कार सिजनेवल फ्रुट एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालक गणेश कार्कीले प्रायोजन गरेका थिए।
थाहा नगर ब्याडमिन्टन संघका उपाध्यक्ष इशाक केसीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा थाहा नगरपालिका–३ का वडाध्यक्ष तथा नगर प्रवक्ता हिरेन्द्रकुमार रायमाझी, खेलकुद विकास समितिका संयोजक अनिल लामिछाने, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख गोविन्द भण्डारीलगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताले नगरभित्र ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।























