हेटौँडामा एक किशोरीमाथि सामूहिक बलात्कार : ८ जना दोषी ठहर, ३ देखि साढे ६ वर्षसम्म कैद सजाय

हेटौँडा। हेटौँडाकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले ८ जनालाई दोषी ठहर गर्दै ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजाय सुनाएको छ। अदालतले दोषीहरूको अभिभावकबाट पीडितका लागि कुल ९ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले हेटौँडा उपमहानगरपालिका–१४ निवासी १८ वर्षीय सुजितकुमार लामालाई घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

घटनामा संलग्न अन्य ६ जना नाबालकलाई कानुनअनुसार १० वर्ष कैद हुने भए पनि उनीहरू १८ वर्षभन्दा कम उमेरका भएकाले दुई तिहाइ अर्थात् साढे ६ वर्ष कैद सजाय सुनाइएको छ। उनीहरूका अभिभावकबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको छ।

यस्तै, घटनामा संलग्न १५ वर्षीय एक किशोरलाई ३ वर्ष कैद तथा ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ। मुख्य अभियुक्त सुजित लामा हाल भीमफेदी कारागारमा रहेका छन् भने अन्य ७ नाबालक हेटौँडाको थानाभर्‍याङस्थित बालसुधार गृहमा छन्। घटनामा संलग्न अन्य दुई किशोर भने अझै फरार रहेका छन्।

गत माघ ६ गते हेटौँडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा किशोरीमाथि जबर्जस्ती करणी भएको आरोपमा पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। त्यसको आधारमा प्रहरीले फागुन २२ गते ८ जनालाई पक्राउ गरेको थियो।

अदालतबाट दोषी ठहर भएका किशोरहरू र पीडित किशोरी हेटौँडास्थित एउटै क्याम्पसका विद्यार्थी रहेको जनाइएको छ। पीडित स्नातक तहमा अध्ययनरत छिन् भने दोषी ठहर भएका किशोरहरू कक्षा १२ मा अध्ययनरत थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.