हेटौंडामा स्कुटरबाट २७ बोतल ओनेरेक्स बरामद, २८ वर्षीय युवक पक्राउ

हेटौंडा, मकवानपुर — मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध ओनेरेक्ससहित एक युवकलाई पक्राउ गरेको छ।

लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ स्थित कपुर कम्प्लेक्स नजिकको भित्री सडकमा स्कुटर जाँच गर्ने क्रममा २७ बोतल ओनेरेक्स बरामद गरेको हो।

बा.प्र.०३–००६ प ५४०५ नम्बरको स्कुटरको डिक्कीभित्र लुकाइराखिएको १०० एमएलका २७ बोतल ओनेरेक्स फेला परेपछि स्कुटर चालक हेटौंडा–१४ मयुरधाप स्थायी घर भई हाल हेटौंडा–५ मा बस्दै आएका २८ वर्षीय कालीबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित स्कुटर पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका बस्नेतविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

मकवानपुरमा पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएसँगै दैनिकजसो लागूऔषधसहित व्यक्ति पक्राउ पर्ने क्रम बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.