हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा नियमित सवारी तथा यात्रु जाँचका क्रममा प्रहरीले मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक विद्युतीय (ईभी) गाडी रोकी जाँच गर्ने क्रममा गोङ्बामाथि शङ्का लागेपछि खानतलासी गरेको थियो।
तलासीका क्रममा उनको साथबाट १ ग्राम ५२० मिलिग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बरामद लागूऔषधसहित पक्राउ परेका गोङ्बामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।























