महोत्तरीमा ठूलो परिमाणको गाँजा सहित मकवानपुरका दुई युवक पक्राउ

महोत्तरी। महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित मकवानपुरको कैलाश गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र कैलाश गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो। बरामद गाँजा र ट्रक आवश्यक कारबाहीका लागि महोत्तरी प्रहरीलाई बुझाइएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका नेगी र थिङको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा आइतबार बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यससँगै बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको डीएसपी गोलेले जानकारी दिए।

बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.