हेटौँडा । सौन्दर्य क्षेत्रका व्यवसायी, विद्यार्थी तथा उद्यमशीलतामा रुचि राख्नेहरूलाई लक्षित गर्दै हेटौँडामा पहिलोपटक ‘ग्रान्ड ब्यूटी एक्स्पो–२०८३’ आयोजना हुने भएको छ।
युवाको सीप विकास, उद्यमशीलता प्रवर्द्धन र स्वरोजगार सिर्जनामा सक्रिय संस्था युथ इको नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन २९ र ३० गते हेटौँडा–१, चौकीटोलस्थित हिमालयन दरबारमा दुईदिने एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो।
कार्यक्रम संयोजक सुष्मा राना मगरका अनुसार एक्स्पोमा देशभरबाट करिब एक हजार सौन्दर्यकर्मी, ब्यूटी प्रोफेसनल, विद्यार्थी तथा सौन्दर्य व्यवसायमा रुचि राख्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रत्यक्ष रूपमा आधुनिक प्रविधि, सीप र व्यावसायिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।
एक्स्पोमा भारतकी चर्चित मेकअप आर्टिस्ट भूमिका बहलले आधुनिक तथा वैज्ञानिक मेकअप प्रविधिबारे प्रशिक्षण दिनेछिन्। त्यसैगरी हेयर कलरिङ विशेषज्ञ म्याक अब्राहमले आधुनिक हेयर कलरिङ प्रविधि तथा हेयर आर्टिस्ट सन्नी कुमारले समसामयिक हेयरकट, हेयर स्टाइलिङ र हेयर केमिकलसम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यसपटक मेकअप र हेयर क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। प्रशिक्षणमा सहभागी सबैलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। उद्घाटन समारोहमा दार्जिलिङ–मिरिककी गायिका इनुङ्मा राईको विशेष सांगीतिक प्रस्तुति पनि रहनेछ।
कार्यक्रम सञ्चालनका लागि करिब १५ देखि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागीका लागि टिकट शुल्क तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।
संयोजक मगरले युथ इको नेपालले हालसम्म ४३ वटा कार्यक्रम सम्पन्न गरिसकेको उल्लेख गर्दै काठमाडौंबाहिर पहिलोपटक हेटौँडामा बृहत् ब्यूटी एक्स्पो आयोजना गर्न लागिएको बताइन्। हेटौँडामा यसअघि सञ्चालन गरिएका सीपमूलक तालिममा उत्साहजनक सहभागिता देखिएकाले यसपटक पनि यहीँ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
उनका अनुसार हेटौँडा, काठमाडौं, चितवनलगायत विभिन्न जिल्लाबाट सहभागीलाई सहज पहुँच हुने भएकाले पनि स्थान छनोट गरिएको हो। कार्यक्रममा उमेरको कुनै सीमा नरहेको र सौन्दर्य क्षेत्रमा रुचि राख्ने जोसुकैले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।
युथ इको नेपालको मुख्य उद्देश्य समाजसेवा, सीप विकास र युवालाई स्वरोजगारतर्फ प्रेरित गर्नु रहेको भन्दै मगरले कार्यक्रमबाट बचत हुने रकम सामाजिक सेवामै खर्च गरिने जानकारी दिइन्।














