देवानगञ्ज घटनामा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा र परिवारलाई १० लाख राहत

सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनालाई लिएर सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ। सहमति जुटेसँगै केही दिनदेखि तनावग्रस्त बनेको क्षेत्रमा स्थिति सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ।

गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको वार्तामा पीडित पक्षका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता भएपछि आन्दोलनरत पक्ष मृतकद्वयको अन्तिम संस्कार गर्न तयार भएको हो।

गृहमन्त्री सुधन गुरुङ्गको उपस्थितिमा भएको सहमतिअनुसार घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अघि बढाउने भएको छ। मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति पनि भएको छ।

त्यस्तै, साउन १० गते राति भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकालाई प्रचलित कानूनअनुसार कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ।

देवानगञ्ज–३ स्थित मदरसाको कानूनी हैसियत र त्यससँग सम्बन्धित विषयमा समेत तत्काल छानबिन प्रक्रिया अघि बढाउने सहमति भएको छ।

सहमतिको अर्को बुँदामा मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने उल्लेख छ। स्थानीय सरकारसँग समन्वय गरी मृतकद्वयको स्मृतिमा उपयुक्त स्थानमा पार्क निर्माण गर्ने सहमति पनि गरिएको छ।

घटनाबारे गठित छानबिन समितिले प्रस्तुत गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई कानूनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत दुवै पक्षले जनाएका छन्।

सहमति भएपछि पीडित पक्षले मृतकद्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अन्तिम संस्कार आज दिउँसो २ बजे गर्ने निर्णय गरेको छ।

सम्झौता पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ्ग तथा पीडित पक्षका तर्फबाट अभिभावक नरेश मेहतालगायतले हस्ताक्षर गरेका छन्। गृहमन्त्री गुरुङ अहिले सुनसरीमै रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.