हेटौँडा, साउन १६ । निर्माण व्यवसायी संघ मकवानपुरले नारायणी यातायात व्यवसायी संघ हेटौँडाका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई स्वागत तथा सम्मान गरेको छ।
शनिबार हेटौँडामा आयोजित कार्यक्रममा नारायणी यातायात व्यवसायी संघको १६औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो। कार्यक्रममा जिल्लाका व्यावसायिक संस्थाबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले यातायात व्यवसायी संघको नयाँ नेतृत्वले सदस्यको हकहित संरक्षणसँगै व्यवसाय प्रवद्र्धनका लागि नयाँ योजना र कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
मकवानपुरका विभिन्न व्यावसायिक संस्थाले सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले संस्थाबीचको सहकार्यले आपसी सम्बन्ध, अपनत्व र भाइचारालाई थप बलियो बनाउने बताउनुभयो।
नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनालले पछिल्लो समय सबै क्षेत्रका व्यवसाय संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउँदै व्यवसायीबीच एकता र सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
उहाँले विगतमा विभिन्न बहानामा यातायात क्षेत्रमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको विकास र संरक्षणबाट मात्रै मुलुकले आर्थिक समृद्धिको बाटो समात्न सक्ने बताउनुभयो।
कार्यक्रममा निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवालले निर्माण र यातायात क्षेत्रका व्यावसायिक संस्थाबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।














