काबुल । अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको छ। भूकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ, तर घाइतेको संख्या भने स्पष्ट गरिएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प जलालाबाद शहरबाट १७ माइल टाढा र झन्डै पाँच माइलको गहिराइमा गएको हो। त्यसपछि ५.२ म्याग्निच्युडसम्मका कम्तीमा पाँचवटा पराकम्प पनि गएको बताइएको छ।
अफगान स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्र दुर्गम र हिमाली भू–भाग भएकाले वास्तविक क्षति र जनधनको नोक्सानीबारे पूर्ण विवरण आउन समय लाग्नेछ। उद्धारका लागि ठूलो अभियान सुरु गरिएको र सयौं जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
अफगानिस्तान भौगोलिक रूपमा उच्च भूकम्पीय जोखिममा रहेको देश हो। यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा गएको ५.९ म्याग्निच्युडको भूकम्पमा एक हजार मानिसले ज्यान गुमाएका थिए। त्यस्तै, सन् २०२३ मा पश्चिमी हेरात प्रान्तमा एक साताभित्र तीनवटा ६.३ म्याग्निच्युडका भूकम्प जाँदा झन्डै एक हजार पाँच सयको मृत्यु भएको थियो।






















































