मकवानपुरको थाहा नगरपालिकाले खानेपानी तथा सरसफाई सेवालाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि नगरको २०औं अधिवेशनमा पेश गरेको नीति तथा कार्यक्रममा यस्तो कुरा उल्लेख गरेको हो । यसका लागि नगर अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत खानेपानी र सरसफाईको गतिविधि सञ्चालन गर्ने नीति लिइएको हो । सभामा नगर प्रमुख विष्णु बहादुर विष्टले पेश गरेको उक्त नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
पारित नीति अनुसार सुरक्षित खानेपानीका लागि बोर्डलाई नै अघि सारिएको छ । नगर क्षेत्रको खानेपानी सेवा सञ्चालन, योजनाहरुको कार्यान्वयन, खानेपानी समितिहरु, दर्ता, नविकरण, अनुगमन तथा नियमन बोर्ड मार्फत नै गर्ने थाहा नगरपालिकाले नीति लिएको छ । खानेपानी पूर्वाधारलाई सुरक्षित भरपर्दो दिगो र वातावरणमैत्री बनाई गुणस्तरीय खानेपानी सेवा विस्तारलाई क्रमशः स्तरवृद्धि गर्ने नीतिमा उल्लेख छ ।
नगरपालिकाले खानेपानी सेवा पालिकाको अभिभाराको रुपमा लिँदै मिटरसहितको एक घर एक धारा नीतिलाई निरन्तरता दिएको छ । खानेपानी आयोजनाहरुको संरक्षण, सञ्चालन, मर्मत संभार तथा महशुल संकलनमा एकरुपता ल्याउनका लागि उपभोक्ता समितिहरुलाई खानेपानी बोर्डमा आवद्धता गराउने कार्यलाई पनि थाहा नगरपालिकाले निरन्तरता दिने भएको छ । खानेपानी, सडक, ढल व्यवस्थापन लगायतको कार्य गर्दा एक अर्को कार्यलाई असर नपर्ने गरी गरिने छ । यसरी कार्य गर्दा असर परेमा असर पु¥याउने पक्षबाट मर्मत संभारको व्यवस्था मिलाउने नगरको नीति छ । खानेपानी सरसफाई, स्वच्छता प्रवद्र्धन गर्न तथा मुहान संरक्षणका लागि विकास साझेदारहरुको खोजी गर्ने नगरपालिकाले जनाएको छ ।
सबै खानेपानी तथा सरसफाइ योजनालाई डिजिटाइजेशन गर्नका लागि एनवास सफ्टवेयरमा अपडेट गर्ने कार्यको शुरुवात गर्ने नगरको नीति छ । महशुल भुक्तानी लगायतको वित्तीय कारोवारलाई अनलाइन प्रणालीबाट हुने व्यवस्थालाई निरन्तरता दिने, खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको व्यवसायिक योजना निर्माणका लागि पहल गर्ने नगरको नीति छ ।
सहलगानीका खानेपानी आयोजना कार्यान्वयनका लागि सहकार्य गर्ने, मर्मतसंभार कोष स्थापना गर्ने, गुणस्तरीय खानेपानी सुनिश्चितताको लागि खानेपानी परीक्षण कार्यलाई निरन्तरता दिददै आगामि आर्थिक वर्षमा सरकारी तथा गैर सरकारी साझेदारहरुसँगको सहकार्यमा आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापना गर्ने थाहा नगरपालिकाले नीति लिएको छ ।
थाहा नगरपालिका स्थित थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड संघीयता कार्यान्वयन पश्चात्को स्थानीय तह अन्तर्गतको जिल्लाकै पहलिो बोर्ड हो । खानेपानी तथा सरसफाईलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले सञ्चालन तथा व्यवस्थापनका लागि वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएको छ । बोर्डले समुदाय तथा पालिकासँगको सहकार्यमा खानेपानी सेवाको व्यवस्थापकीय कार्य गर्दै आएको छ । नगरपालिकाले उक्त बोर्डलाई आगामि आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन समेत गरेको छ ।
























