हेटौँडा । बागमती प्रदेश सरकारले यस वर्षको संविधान दिवसलाई तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ। असोज १ गतेदेखि ३ गतेसम्म विभिन्न कार्यक्रममार्फत संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा मनाइने निर्णय भएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेशस्तरीय मूल समारोह समिति गठन तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी बैठकले संविधान दिवसलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको हो। बैठकले मुख्यमन्त्रीकै नेतृत्वमा ४३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ।
कार्यक्रमअनुसार असोज १ गते ‘संविधानः सबल राष्ट्र निर्माणको आधार’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता र विविध खेलकुद प्रतियोगिता हुनेछन्। असोज २ गते रक्तदान र वृक्षारोपण कार्यक्रम आयोजना हुनेछ।
संविधान दिवसको मुख्य दिन असोज ३ गते हेटौँडा नगर क्षेत्रमा विशेष सरसफाइ अभियान चलाइने र भुटनदेवी माध्यमिक विद्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरिने कार्यक्रम तय भएको छ। सोही दिन हुने औपचारिक कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि र सभामुख विशेष अतिथि रहनेछन्।
मुख्यमन्त्री बानियाँले संविधानलाई अझ व्यवस्थित बनाउन केही प्रावधान संशोधन आवश्यक भएको उल्लेख गर्दै संविधान दिवसलाई सबैले उत्सवका रूपमा मनाउनुपर्ने धारणा राखेका छन्।






















































