ड्युटी, पढाइ र सम्झनाबीच परदेशीको दशैं

युएई। देशमा दशैं सुरु हुनेबित्तिकै गाउँघर रमाइलोको महोलमा डुब्छ । पिङमा हुइँकिएका युवादेखि मन्दिरको घन्टी, घरमा राखिएको जमरा र परिवारभित्रको मिलन सबैले दशैंलाई विशेष बनाउँछ । तर हजारौं किलोमिटर टाढा परदेशिएका नेपालीहरूका लागि भने यो चाड भनेजस्तो नहोला । कसैलाई ड्युटीले बाँध्छ, कसैलाई पढाइले, त कसैलाई जीवनको व्यस्ततालाई प्राथमिकता दिनुपर्ने बाध्यता हुन्छ ।

क्रोएसियादेखि युएई, माल्दिभ्स, अस्ट्रेलिया, बेलायतसम्म रहेका नेपालीहरू आफ्नो पहिलो परदेशी दशैं घरको सम्झनामा मनाउँदैछन् ।

बुबालाई सम्झँदै खेलराज

नवलपरासीका खेलराज कार्की हाल क्रोएसियामा छन् । तीन महिनाअघि मात्र कामको सिलसिलामा त्यहाँ पुगेका उनी पहिलोपटक दशैं घरभन्दा टाढा मनाउँदैछन् । उनले चलचित्र मुगलानको संवाद– ‘बस्नुस है बा, तपाईं सधैं बिरामी परिरहनुहुन्छ, आफ्नो ज्यानको ख्याल राख्नु है, म गएँ’ भन्दै बुबालाई सम्झाएका थिए ।

‘कामको चापका कारण लामो बिदा सम्भव छैन,’ उनी भन्छन्, ‘तर टीकाको दिन चाहिँ सहकर्मी दाइहरूसँग मिलेर नेपाली शैलीमै रमाइलो गर्ने तयारी छ ।’

पुनमको पहिलो परदेशी आँसु

६ महिनाअघि माल्दिभ्स पुगेकी पुनम ढुंगानाको मन दशैं नजिकिँदै जाँदा घरतिरै केन्द्रित छ । ‘दशैंको दिन फुल ड्युटी छ, कसरी मनाउने भन्ने कुनै योजना छैन,’ उनी भन्छिन्, ‘पहिलो दशैं त सायद रुँदै बित्छ जस्तो लाग्छ ।’ व्यस्त कामकाजबीच पनि गाउँघरको माहोल सम्झिँदा उनलाई खल्लो लाग्ने गरेको छ ।

प्रकाशको बदलिएको दृष्टिकोण

देवदहका प्रकाश भण्डारी हाल बेलायतमा छन् । ९ महिना भयो उनले पढाइसँगै काम सुरु गरेको । ‘विदेश जाने सपना नदेखेको मान्छे म, आज परदेशमा छु,’ उनी भन्छन्, ‘पहिले दशैं आउँदा मन फुरुङ्ग हुन्थ्यो, अहिले भने दशैंमा परिवारलाई खर्च पठाउने जिम्मेवारी बढेको छ ।’

बेलायतमा उनी नेपाली साथीहरूसँग मिलेर दशैंका गीत सुन्ने, नेपाली परिकार पकाउने र भिडियो कलमार्फत परिवारसँग टीका ग्रहण गर्ने तयारीमा छन् ।

अस्ट्रेलियामा सम्झनाको भार

सम्झना बस्याल अस्ट्रेलिया पुगेको तीन महिना मात्रै भएको छ । अझै त्यहाँको माहोलमा घुलमिल हुन नसकेकी उनी भन्छिन्, ‘यहाँ धेरै नेपाली परिवार छन्, कतिले आमा–बुबा पनि ल्याउनुभएको छ । बाटोमा नेपाली पोसाकमा सजिएका परिवार देख्दा आफ्नै घरको सम्झना आउँछ ।’

साथै उनी थप्छिन्, ‘मेरो श्रीमान् एक्लो छोरा हुनुहुन्छ, सासु–ससुरालाई एक्लै छोडेर आउँदा अझै मन भारी हुन्छ ।’ दशैंमा उनले जमरा रोप्ने, पूजाको सामान तयारी गर्ने र श्रीमान्सँगै मिलेर घरको वातावरण बनाउन खोजेकी छन् ।

दुबईमा तुसारको अनुभव

काठमाडौंका तुसार तुलाधर दुबई आएको १० महिना पुगेको छ । ‘पोहोर त घरमै चाडपर्व मनाएँ, त्यसैले केही कमी महसुस भएन,’ उनी भन्छन्, ‘तर यसपटक विदेशमा पहिलो दशैं भएकाले गाउँघरको सम्झना झन् चर्को भइरहेको छ ।’

दुबईमा रहेका नेपालीहरूले मिलेर सांस्कृतिक कार्यक्रम, सामूहिक टीका र रमाइलो गर्ने तयारी गरिरहेका छन् । तर तुसारलाई लाग्छ, ‘देशमा अवसर र परिवर्तन भए हामी जस्ता युवाहरूलाई परदेशिनुपर्दैनथ्यो ।’

देश–परदेशको हजारौं किलोमिटरको दूरीले नेपालीहरूलाई परिवारदेखि टाढा राखे पनि संस्कार, परम्परा र दशैंप्रतिको माया भने कहिल्यै मेटिँदैन । बरु यही दूरीले उनीहरूलाई अझै आफ्नो संस्कृति जोगाउन, परदेशमै आफ्नो पहिचान जगेर्ना गर्न र सम्झनालाई जीवन्त राख्न प्रेरित गरिरहेको छ ।

आजको मध्यान्ह दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.