सिम्पानी युथ क्लबले हासु एफसी कप फुटबलको उपाधि जित्यो

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लबले दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार चितवनको राप्ती नगरपालिकास्थित सिमरा खेलमैदानमा भएको फाइनलमा आयोजक सिमरा युवा समाजलाई १–० गोलले पराजित गर्दै सिम्पानीले उपाधि हात पारेको हो ।

सिम्पानीका रोशन दोङले दोस्रो हाफमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि आइतबार फाइनल खेल विवादका कारण स्थगित भएपछि दुबै टिमबीच सहमति अनुसार मंगलबार पुनः खेलाइएको हो । आइतबारको खेलमा आयोजक सिमरा युवा समाजका डिफेन्डरको ह्याण्डबलका कारण सिम्पानीलाई पेनाल्टी दिइएपछि विवाद उत्पन्न भएको थियो । रेफ्रिलाई दबाब दिने प्रयास भएपछि सिम्पानी मैदान छाडेर खेल रोकिएको थियो । त्यसपछि मंगलबार दोस्रो हाफदेखि पुनः खेल सञ्चालन गरिएको हो ।

उपाधिसँगै सिम्पानी युथ क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक सिमरा युवा समाजले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

व्यक्तिगततर्फ सिम्पानीका गोलरक्षक अस्मिर गोङ्बा म्यान अफ द म्याच घोषित भए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट उत्कृष्ट गोङ्बा बने भने सर्वाधिक गोलकर्ता सिम्पानीकै मिलन स्याङ्तान घोषित भए ।

यसअघि सिम्पानीले सेमीफाइनलमा बागमती प्रदेश प्रहरीगण हेटौंडालाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा भने उनले लामा स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित गरेका थिए ।

भदौ ३० गतेदेखि सुरु भएको प्रतियोगितामा २४ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.