जन्मदिन विशेष: जन्म र मृत्यु बिचको संघर्ष

जन्म एउटा अनौठो चमत्कार हो, जसको गन्ध अझै पनि आमाको गर्भको न्यानो अँध्यारोमा हराइरहेको हुन्छ । कुनै बेला भगवानको हातमा भएको श्वास, एकदिन पृथ्वीमा ओर्लिन्छ र हाँसोको पहिलो ध्वनिले संसारलाई चकित पार्छ । त्यो हाँसोमा सिंगो जीवनको सम्भावना हुन्छ, दु:ख, शु:ख, तिर्सना, तृष्णा, सपना र संघर्षको असीमित यात्रा ।

म पनि त्यही यात्राको एक पानामा लेखिएको एउटा नाम मात्र हुँ । अझ भनौ धर्तीमा अनुभव बटुल्न आएको एउटा स्वतन्त्र आत्मा हुँ । मकवानपुरको हरियो मुटु भनेर चिनिने हाँडिखोलाको माटोमा खेल्दै हुर्किएको एउटा बालक, जसका पाइला अझै पनि रातो माटोको डिलमा बचेका छन् । बिहानको घामले धान, गहुँको बाली चम्काउँदा लाग्थ्यो ‘जिन्दगी पनि यस्तै चम्किलो होला ।’ तर साँझ ढल्दा थाहा पाइयो घाम हरेक दिन उदाउँछ, तर त्यसको उज्यालो स्थायी हुँदैन ।

बाल्यकालमा जिन्दगीको अर्थ थाहा थिएन । खेलको मैदान, साथीसंगी, पौडी खेल्ने राप्ती खोला र आमाको आँखाबाट लुक्दै झुल्यानको फाटमा हाम फाल्ने रमाइलो, सायद त्यो नै जिन्दगी थियो । स्कुलको घण्टी बज्थ्यो, हामी किताबभन्दा बढी चौरमा हावासँग दौडिन्थ्यौं । कहिलेकाहीँ बुवाको पुरानो जुत्ता लगाएर पानीमा हाम्फाल्दा लाग्थ्यो, म कुनै समुद्रको राजा हुँ ।
तर हरेक पौडीमा एउटा संघर्ष लुकेको रहन्थ्यो, त्यो हो सास टिकाउने संघर्ष ।
त्यो सास नै त जीवन हो ।

जिन्दगीको पहिलो पाठ मैले आमाबाट सिकें । उनी दिनभर खेतमा पसिना बगाउँथिन्, साँझ घर फर्केर पनि मुस्कुराइरहन्थिन् । कहिलेकाहीँ म सोध्थें-‘आमा, तिमी किन हाँस्छ्यौ, जब सारा शरीर थकित छ ?’उनी बिस्तारै भन्थिन्-‘बाबु, दुःखले त मानिस मर्छ, तर मुस्कानले फेरि जन्म दिन्छ ।’त्यो वाक्य मेरो जीवनको सूत्र बन्यो । त्यसपछि म हरेक चोटपटकपछि पनि मुस्कुराउन सिकें, चाहे मन भित्र कत्ती कत्ती रोएँ, त्यो कुरा मैले कसैलाई थाहा दिन्नँ ।

स्कुले जीवन सायद सबैभन्दा सुन्दर अध्याय हो, जुन जीवनको पुस्तकमा फेरि कहिल्यै फिर्दैन । साथीहरूको हाँसो, शिक्षकको गाली, र छुट्टीको घण्टीपछि राप्तीको किनारमा हाम फाल्ने हाम्रो टोली, सबै स्मृतिहरू अहिले पनि जिवन्त छन् । त्यो बेला हामीलाई जीवन सजिलो लाग्थ्यो, कारण त्यतिबेला हाम्रा सपना साना थिए । ठूला सपना बोकेपछि जीवनको भार पनि बढ्छ भन्ने कुरा समयले मात्रै सिकाउँछ ।

तर साँचो कुरा के हो भने हामी सबै आमाबाबुको पसिनाबाट बनेका सन्तान हौं । हाम्रा हातका रेखा तिनका हातका फाटाहरूसँग जोडिएका छन् । मझौला वर्गको घरमा जन्मिनुको अर्थ के हो भने न त तिमीलाई भोकै बस्नुपर्छ, न त तिमीले विलासी सपना देख्न पाउँछौ । जिन्दगी सन्तुलनको दोरामा हिँड्ने खेल हो, जहाँ एकछिनको असावधानीले सारा परिश्रम भत्किन्छ ।

कहिलेकाहीँ लाग्छ, जीवन एउटा चक्र हो, जन्म, संघर्ष, मृत्यु बीचको समयलाई मानिसले जीवन भन्छ । तर त्यसको परिभाषा हरेक व्यक्तिका लागि फरक हुन्छ । कसैका लागि जीवन सफलता हो, कसैका लागि सन्तान, कसैका लागि प्रेम र कसैका लागि त केवल बाँचिरहनु नै सफलता हो । म भने जीवनलाई एउटा अखडा ठान्छु, जहाँ हरेक दिन लड्नुपर्छ, कहिले आफ्ना विचारसँग, कहिले समाजसँग, कहिले आफ्नै कमजोरीसँग ।

समय हरेक दिन हातको मुठीबाट फुत्किँदै जान्छ । कुनै दिन बुवाको काँधमा बसेर खोलामा माछा मार्न गएको सम्झना आउँछ अनि अहिले आफूलाई समाजको भीडमा हराएको महसुस हुन्छ । मान्छे हुर्कँदै जाँदा ऊ भित्रका बालक मर्दै जान्छ । त्यो बालक मर्दा सँगै उसको निष्कपट हाँसो, स्वच्छ सपना र निस्वार्थ माया मर्छ, तर जिन्दगी त रोकिँदैन ।
ऊ हिँडिरहन्छ काँडामा घाइते हुँदै, घामले पोलिँदै, हावाले उडाउँदै ।

यात्रा सजिलो छैन । मानिस जन्मिन्छ, र मृत्युको दिशातिर हिँड्न थाल्छ । बीचमा उसले घर बनाउँछ, सम्बन्ध बनाउँछ, सपना देख्छ, रोइन्छ, हाँस्छ, माया गर्छ र माया गुमाउँछ । हरेक मानिसको कथा फरक हुन्छ, तर निष्कर्ष एउटै- सबै मृत्युमा पुग्छन् ।
तर प्रश्न यो हो कि मृत्युसम्म पुगुन्जेल हामीले के बाँच्यौं ?
के केवल सासमात्र चलायौं ? कि वास्तवमै जीवन बाँच्यौं ?

कसैले भनेका छन् ‘जीवन भनेको आँसु र हाँसोको बीचमा लडिरहेको आत्माको कविता हो।’
हो, कहिले तिमी हाँस्दै रुन्छौ, कहिले रोइरहेको बेलामा पनि हाँस्न सिक्छौ, यही त संघर्ष हो । मानिसको जन्म केवल जीवित रहनका लागि होइन, अर्थपूर्ण जीवन जिउनका लागि हो । अर्थ खोज्दै जाँदा कहिले थकाइ लाग्छ, तर त्यही थकाइ जीवनको सौन्दर्य हो ।

म कहिलेकाहीँ सोच्थें: यदि मृत्यु अन्तिम सत्य हो भने, जन्म किन आवश्यक ?
सायद भगवानले चाहन्थे: मानिसले दु:ख र माया, हार र जित, आँसु र हाँसोको स्वाद अनुभव गरोस् ।त्यसैले उहाँले जन्मको वरदान दिए । जन्म एक अवसर हो, मृत्यु एक विश्राम र बीचको संघर्ष नै जिन्दगी हो ।

अब पछाडितिर फर्केर हेर्छु र देख्छु- राप्तीको किनारमा पौडी खेल्ने त्यो बालक कहाँ हरायो ?
रातो माटोका बाटा, झुल्यानको फाट, आमाको सिउँदोमा पसिनाको झिल्को, सबै बिस्तारै समयको धुलोले ढाकिँदै गएका छन् । तर त्यो माटो अझै पनि मभित्र छ, जसले मलाई हरेक चोटमा जमिन समात्न सिकायो ।

आज म बुझ्छु जीवन शान्त त कहिल्यै हुँदैन । हरेक हाँसोको पछाडि कुनै पीडा लुकेको हुन्छ, हरेक सफलताको पछाडि कुनै हारको कथा । तर यो संसारमा जसले आफ्ना पीडा पनि कविता बनाउन जान्दछ, उसले कहिल्यै हार्दैन ।

शायद यही जीवनको असल अर्थ हो । जन्म र मृत्युबीचको यो काँडेदार बाटो हिँड्दा पनि मुस्कुराउन सक्नु ।किनकि हामी जन्मिएको क्षणदेखि नै मर्नतर्फ हिँडिरहेका हुन्छौं, तर त्यो यात्रालाई अर्थ दिने जिम्मा हामीमाथि हुन्छ ।कसैले भन्या थियो — ‘मृत्यु त निश्चित छ, तर जीवन निश्चित छैन ।’त्यसैले जीवनलाई सासका लयमा होइन, भावका स्पन्दनमा नाप्नुपर्छ ।

आज म आफ्नो जन्मदिनको साँझमा सोचिरहेको छु, जीवनले मलाई धेरै सिकायो : जसरी रोए पनि बलियो देखिन सकिन्थ्यो, जसरी हारे पनि मुस्कुराइन्थ्यो, जसरी थकाइलाई गीत बनाइन्थ्यो ।र मैले बुझें जन्मदिन केवल उमेरको गणना होइन, यो त संघर्षको उत्सव हो ।
किनकि हरेक वर्ष हामी मृत्युबाट एक वर्ष टाढा छैनौं, बरु जीवनबाट एक वर्ष नजिक पुगिरहेका हुन्छौं ।

त्यसैले आज म केवल आफ्नो जन्म सम्झँदिन,म सम्झन्छु आमाको न्यानो गर्भ, बुवाको पसिना, हाँडिखोलाको माटो, राप्तीको बग्दो पानी र ती सबै संघर्षहरू जसले मलाई ‘म’ बनायो ।

जीवन अन्ततः एउटा यात्रामात्र हो- जहाँ सुरु जन्मले गर्छ, र अन्त्य मृत्युले ।
तर बीचको प्रत्येक सास, प्रत्येक पीडा, प्रत्येक हाँसो त्यो नै त जीवनको कविता हो,
जसलाई बाँच्न सक्नु, यही सबैभन्दा ठूलो विजय हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.