थाहा नगरपालिकामा तीन दिनसम्म चल्ने ऐतिहासिक इन्द्रायणीमाई मेला सुरु, आज दोस्रो दिन पालिकाभर सार्वजनिक बिदा

मकवानपुरको थाहा नगरपालिका–३ मा तीन दिनसम्म चल्ने ऐतिहासिक इन्द्रायणी माईको मेला बिहीबारदेखि सुरु भएको छ। मंसिर पूर्णिमादेखि लाग्ने यो मेला तीनतीन वर्षको अन्तरालमा सञ्चालन हुने परम्परा रहिआएको छ।

दामन, पालुङको मध्यभागमा अवस्थित इन्द्रायणी माईको चौरमा लाग्ने मेलाको पहिलो दिन पाँच वटा रथ, गणेश, कुमारी, इन्द्रणी, कालभैरवसहित, नेवार र देउला समुदायका स्थानीयले बाजागाजासहित बोकेर ल्याउँछन्। विगतमा रथ बोक्ने जिम्मेवारी पुरुषमै सीमित रहे पनि केही वर्षयता कुमारीको रथ महिलाहरूले पनि बोकेर चौरमा पुर्याउने चलन बसिसकेको छ।

मेलाको दोस्रो दिन पालुङ उपत्यकासहित आसपासका बासिन्दाले बोका, राँगा, कुखुराका भाले गरी करिब दुई हजारभन्दा बढी चौपाया तथा पशुपन्छीको बली दिने परम्परा छ। तेस्रो दिन रथ फर्काएसँगै मेला सम्पन्न हुन्छ। इन्द्रायणी माई मन्दिरका पुजारी परम्परागत रूपमा देउला समुदायकै हुने प्रचलन आज पनि कायमै छ।

रोजगारी तथा बसाइँ सरेर बाहिर बसेका नेवार र देउला समुदायका मानिसहरू विशेष रूपमा यो मेलाको अवसरमा गाउँ फर्कने गर्दछन्। स्थानीयको सामूहिक सहभागितामा जीवित रहेको यो मेला मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने प्राचीन तथा सांस्कृतिक महत्वको चाड मानिन्छ।

इन्द्रायणी माईको ऐतिहासिक मूर्ति करिब पाँच दशकअघि चोरी भए पनि आजसम्म फेला परेको छैन। त्यसयता नयाँ मूर्तिसहित नै पूजाआजा तथा मेला सञ्चालन हुँदै आएको स्थानीय श्यामभक्त श्रेष्ठले बताए। मेलाको दोस्रो दिन थाहा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।https://www.facebook.com/reel/1866128507333242

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.