हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा बारम्बार आगलागी, स्थानीयको कडा विरोध

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा प्रत्येक वर्ष दोहोरिने आगलागीका घटनाप्रति स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन्। डम्पिङ स्थलमा बारम्बार आगलागी हुँदा उत्पन्न धुवाँ, दुर्गन्ध र विषाक्त ग्यासका कारण हेटौंडा बजारसहित आसपासका बस्तीहरू प्रभावित हुँदै आएका छन्।

स्थानीयका अनुसार डम्पिङ स्थलमा जम्मा गरिएको प्लास्टिकजन्य फोहोर तथा ग्यासका कारण आगलागी हुने गरेको हो। यो आगलागी आकस्मिक नभई हेटौंडा उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शी सोच र असक्षम फोहोर व्यवस्थापन नीतिको परिणाम भएको आरोप लगाइएको छ। फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीले फोहोरको थुप्रो बढेपछि जानाजान आगो लगाउने गरेको स्थानीयको दाबी छ।

डम्पिङ साइटमा लागेको आगोबाट निस्किएको विषाक्त धुवाँले उपमहानगरपालिका–१, १०, ११ र १२ का बस्तीहरू बारम्बार प्रभावित हुँदै आएका छन्। धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी रोग, छाला तथा आँखाका समस्या बढ्नुका साथै बालबालिका, वृद्धवृद्धा र बिरामीहरू उच्च स्वास्थ्य जोखिममा परेका छन्। यसबारे पटक–पटक जानकारी गराउँदा पनि उपमहानगरपालिकाले गम्भीरता नदेखाएको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार प्रत्येक हप्ता जसो डम्पिङ साइटमा आगो लगाइने गरिएको छ। ठेकेदारले आगो लगाएपछि उपमहानगरपालिकाले निभाउन दमकल पठाउने गरे पनि यो प्रक्रिया केवल देखावटी भएको आरोप छ। ठेकेदार र उपमहानगरपालिकाबीचको यो ‘लुकामारी’ विगत केही वर्षदेखि चल्दै आएको स्थानीयको भनाइ छ।

२०७१ सालमा देशकै सबैभन्दा सफा शहरको रूपमा पुरस्कृत हेटौंडा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा परेको छ। हाल संकलन हुने फोहोरलाई दैनिक रूपमा एक्साभेटर प्रयोग गरेर पुर्ने काम मात्रै भइरहेको छ भने दीर्घकालीन समाधान र वैकल्पिक व्यवस्थापनको खोजी हुन सकेको छैन। यसले प्रदेशको राजधानीको साखसमेत खस्किँदै गएको स्थानीयको चिन्ता छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.