हेटौंडा अस्पतालमा ६ दिने नवजात शिशुको मृत्यु

हेटौंडा अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। शिशुको मृत्यु अस्पताल प्रशासनको लापरबाहीका कारण भएको भन्दै परिवार पक्षले गम्भीर आरोप लगाएका छन्।

परिवारका अनुसार सामान्य प्रसूति प्रक्रियाबाट जन्मिएका आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सुरुमा सामान्य थियो। तर घर फर्किन खोज्दा अस्पतालले अनुमति नदिएको र त्यसको भोलिपल्ट शिशुलाई एनआईसीयुमा भर्ना गरिएको उनीहरूको भनाइ छ।

एनआईसीयुमा रहँदा शिशुको नियमित स्वास्थ्य निगरानी नभएको, नर्सहरू समयमै उपस्थित नहुने गरेको तथा आवश्यक उपचारमा ढिलाइ भएको परिवारको आरोप छ।

शिशुका पिता विशाल ओलीले पुस १ गते बिहान करिब साढे ३ बजेसम्म शिशुले दूध खाएर आरामसँग सुतेको जानकारी दिएका छन्। उनका अनुसार त्यसपछि ‘हिटरमा राख्नुपर्छ’ भन्दै शिशुलाई न्यानो उपकरणमा राखिएको थियो। तर सो समयमा वार्डमा न नर्स थिए न चिकित्सक नै उपस्थित थिए।

“ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि जाँच गर्न आएका चिकित्सकलाई ‘मान्छे बितिसक्यो, के चेक गर्नु’ भनेपछि फर्केर गए,” ओलीले बताए। केही समयपछि शिशुको सास फेर्न छाडेको थाहा भएको परिवारको दाबी छ।

घटनाका बेला वार्डमा कुनै पनि स्वास्थ्यकर्मी उपस्थित नरहेको आरोप समेत लगाइएको छ। कुरुवाहरूका अनुसार हिटरबाट निकाल्दा शिशुको शरीर निलो भइसकेको अवस्थामा थियो, जसले अत्यधिक तापक्रम वा उपकरणमा गडबडी भएको आशंका उत्पन्न गरेको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै परिवारले अस्पताल प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् र निष्पक्ष छानबिनको माग गरेका छन्। यस विषयमा अस्पताल प्रशासनले भने घटनाबारे जानकारी संकलन गरिरहेको र आवश्यक छानबिन गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.