राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका सहिद परिवारसँग भेट गर्दै बालबालिकाको हत्या गर्नेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अदालतमा उभ्याइने प्रतिबद्धता जनाएका छन् ।
बबरमहलस्थित जेन–जी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा परिवारजनसँगको भेटमा उनले कांग्रेस–एमाले सरकारलाई लक्षित गर्दै २३ भदौको घटनालाई भिडन्त नभई कत्लेआम भएको दाबी गरे । बालबालिकालाई टाउको र छातीमा ताकेर गोली हानिएको भन्दै उनी भावुक बने ।
‘म घुमाएर बोल्दिनँ । बच्चा मारिएका छन् । यसलाई भोटको विषय बनाउँदिनँ,’ उनले भने, ‘नक्खु वा सेन्ट्रल जेल जानुपरे पनि म न्यायका पक्षमा अन्तिमसम्म लड्छु ।’
लामिछानेले पार्टी सभापति, व्यक्ति र भविष्यमा निर्वाचित जिम्मेवारीको हैसियतले पनि सहिद परिवारको न्यायका लागि निरन्तर साथ दिने बताए । ‘एक थोपो रगत पनि खेर जान दिँदैनौँ । तपाईंहरू एक्ला हुनुहुन्न,’ उनले प्रतिबद्धता जनाए ।






















































