गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बलिएको घटनालाई ध्यानमा राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। सर्कुलरमार्फत धार्मिक सहिष्णुता कायम गर्न गरिएका पहल र प्रगति विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।
मन्त्रालयले गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन, सरोकारवालासँग समन्वय बैठक गर्न र सामाजिक सद्भावका लागि सार्वजनिक आह्वान गर्न भनेको छ। साथै सद्भाव र्याली आयोजना गर्ने, सीमा क्षेत्रमा आवागमनमा कडाइ गर्ने र स्थानीय भाषामा सद्भावसम्बन्धी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिनेछ। साथै सम्भावित विवाद हुने पर्व तथा कार्यक्रमको सूची बनाएर वार्षिक क्यालेन्डर तयार गर्न पनि भनिएको छ।
यसैबीच धार्मिक तथा सामाजिक विवादपछि अशान्त बनेको पर्साको वीरगञ्जमा अवस्था सामान्य बनेको छ। सर्वदलीय बैठकपछि कर्फ्यू हटाइएको छ भने स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ।






















































