मनहरी। श्री सीता माध्यमिक विद्यालयद्वारा आयोजित स्वर्ण महोत्सव (जयन्ती) अन्तर्गत २२ गते सम्पन्न दोस्रो दिनको कार्यक्रम सांगीतिक प्रस्तुति र शैक्षिक गतिविधिले उल्लासमय बनेको छ।
महोत्सवको पहिलो दिन २१ गते गायक महेश नेपाली (आरोही), रबिन चेपाङ र ईमान लामाको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। त्यसैगरी दोस्रो दिन २२ गते सेलो गायीका सुमिना लो, ईमान लामा र महेश नेपाली (आरोही) लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
सोही दिन विद्यार्थीहरूबीच हाजिरजवाफ प्रतियोगिता समेत सम्पन्न भएको थियो।२१ गतेदेखि सुरु भएको स्वर्ण महोत्सव आज २३ गतेसम्म चल्नेछ। महोत्सवको उद्घाटन २१ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा गरिएको थियो। दोस्रो दिन २२ गते बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
त्यसैगरी आज २३ गते हुने समापन कार्यक्रम नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ। महोत्सव अवधिभर विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
विद्यालयको आधा शताब्दी लामो शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाउँदै आयोजना गरिएको स्वर्ण महोत्सवले विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीच उत्साह थपेको आयोजकको भनाइ छ।






















































