५ महिनाको तथ्याङ्कले देखाएको देशको आर्थिक र वित्तीय स्थिति: यहाँ छ पूर्ण विवरण

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको ५ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ ।

मुलुकको कुल विदेशी विनिमय सञ्चिति ऐतिहासिक उचाइमा पुगेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ । यो सञ्चितिले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

देश भित्रिने र बाहिरिने रकमबिचको अन्तर देखाउने शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब १९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा थियो। त्यस्तै, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दो क्रममा देखिएको छ। २०८२ मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.३८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्ष ६.८२ प्रतिशत थियो ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ ।

यसैगरी पाँच महिनाको अवधिमा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ । जसका कारण कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४८ अर्ब ६४ करोड पुगेको छ ।

 

रासस
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.